विराटनगरको शहीद रङ्गशालामा 'फ्लड लाइट' जडान कार्य सम्पन्न हुँदै
विराटनगरवासीको रात्रिकालीन खेलकूद हेर्ने चाहना आगामी मङ्सीरदेखि पूरा हुने भएको छ। वर्षको नौ महीना चर्को गर्मी हुने यस क्षेत्रमा रात्रिमा खेलकूद हेर्ने नागरिकको इच्छा प्रदेश सरकारको सहयोगले पूरा गर्न लागेको हो।
सरकारको लगानीबाट पहिलोपटक यस क्षेत्रमा उक्त फ्लड लाइट जडान गर्न लागिएको काठमाडौको दशरथ रङ्गशालापछि यो दोश्रो हो। प्रदेश सरकारको रु पाँच करोडको लगानीमा फ्लड लाइट जडान गरिने भएको हो।
विराटनगरको शहीद रङ्गशाला रात्रि खेलकूदका लागि आवश्यक पर्ने फ्लड लाइटका सम्पूर्ण सामग्री आज रङ्गशालाको मैदान आइपुगेको छ। जडान गर्ने कार्य आगामी मङ्सिर भित्रमा काम सम्पन्न हुनेछ।
गत वर्ष १ असोजमा सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी रु चार करोड २९ लाखमा ठेक्का सम्झौता भएको थियो।
सामग्रीको अनुगमनपश्चात प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बन्दाबन्दीका कारण निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको बताउँदै अब ढिलाइ नहुने बताए।
ठेकेदार कम्पनीका प्रोपाइटर गणेश कार्कीले कोभिड १९ का कारण निर्माण सामग्री ल्याउन नसकेकाले जडानमा ढिलाइ भएको बताए।