सुरुङभित्र काम गर्ने एक मजदुरको मृत्यु, दुई घाइते
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा निर्माणाधीन लोयर सोलु हाइड्रो कम्पनीको सुरुङभित्र ढुङ्गाले लागेर मंगलबार बिहान १ मजदुरको मृत्यु हुनुका साथै २ जना घाइते भएका छन् ।
बिहान साढे ४ बजे सुरुङभित्र काम गरिरहेका कामदारको समूहलाई माथिबाट खसेको ढुङ्गाले किच्दा भारतको आसाम बरपिताका कामदार २० वर्षीय रविउल अली, आसाम नलवाडीका २१ वर्षीय हनमनी कोलिता र आसाम लोखिमपुरका २६ वर्षीय विशाल गोवाला गम्भीर घाइते भएका थिए ।
घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल फाप्लु लैजाने क्रममा रविउल अलीको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी सोलुखुम्बुका नायब उपरीक्षक शालिकराम शर्माका अनुसार, सुरुङको मुखमै माटो सहितको ढुङ्गा खसेर कामदारहरूका टाउकोमा चोट लागेको थियो । शव पोष्टमार्टम गरेर कानुनी प्रक्रिया पूरा गरी निर्माणकर्ता मार्फत मृतकका परिवारलाई जिम्मा लगाइने शर्माले बताए ।