फोरजी विस्तारमा बल्ल बढ्दैछ टेलिकमको गति, गुणस्तरको गुनासो सम्बोधन होला ?
चार वर्षअघि फोरजी सेवा शुरू गरे पनि प्रक्रिया र संस्थागत खिचातानीमै धेरै समय गुजारेको सरकारी स्वामित्वको नेपाल टेलिकमले बल्ल दायरा विस्तार गर्न थालेको छ। तर, प्रयोगकर्तामा अगाडि रहेको एनसेलले जस्तै गुणस्तर सुधारको काम भने बाँकी नै छ।
नेपालमा चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) शुरू भएको करीब चार वर्ष भएको छ। यस अवधिमा फोरजी प्रयोगकर्ताको संख्या ५० लाख नाघेको छ। सरकारी स्वामित्वको नेपाल टेलिकम तथा निजी दूरसञ्चार सेवा प्रदायक एनसेल र स्मार्ट टेलिकमले फोरजी इन्टरनेट सेवा दिंदै आएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले असोज मसान्तमा सार्वजनिक गरेको २०७७ साउनसम्मको तथ्यांक अनुसार, यी कम्पनीका फोरजी चलाउने मोबाइल प्रयोगकर्ताको कुल संख्या ५४ लाख ९७ हजार छ।
गएको साउनसम्म नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता १५ लाख ५१ हजार ८३७ रहेको प्राधिकरणको तथ्यांक छ। १७ पुस २०७३ बाट फोरजी सेवा शुरू गरेको टेलिकमले २०७६ माघसम्मको तीन वर्षमा फोरजीको पहुँच आठ लाख ४२ हजार प्रयोगकर्तामा मात्र पुर्याउन सकेको थियो।
टेलिकमले २०७६ माघदेखि ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको थियो। तर, बल्ल पछिल्लो समयमा यसको फोरजी प्रयोगकर्ता बढ्न थालेका हुन्। गएको असारसम्म टेलिकमको फोरजी प्रयोगकर्ता ८ लाख ४३ हजार मात्र थिए, एक महीनामै प्रयोगकर्ताको संख्या ८३ प्रतिशत बढाएको कम्पनीले साउनमा ७ लाख ७८ हजार ८६८ थपेको हो।
नेपाल टेलिकम भन्दा ६ महीनापछि मात्रै फोरजी सेवाको अनुमति पाएको एनसेलले टेलिकमको तुलनामा दोब्बरभन्दा पनि बढी प्रयोगकर्ता पाइसकेको छ। गएको साउनसम्मको तथ्यांक अनुसार, एनसेलका फोरजी प्रयोगकर्ताको संख्या ३७ लाख ६२ हजार ९१४ छ।
एनसेलले सेवा शुरू गरेको एक वर्षमै आक्रामक बजार विस्तार गरेर ११ लाख प्रयोगकर्तासम्म फोरजी पुर्याउन सफल भएको थियो। जबकि, टेलिकमले डेढ वर्षसम्म पनि जम्मा ६ लाख प्रयोगकर्तामा नै चित्त बुझाइरहेको थियो। सेवा सञ्चालन गरेको तीन वर्षसम्म टेलिकमले बल्लतल्ल आठ लाख प्रयोगकर्ता पुर्याउन सकेको थियो भने दुई वर्षमै एनसेलले फोरजीका प्रयोगकर्ता साढे ३७ लाख बनाइसकेको छ।
निजी कम्पनी आक्रामक बन्दा सरकारी स्वामित्वको टेलिकम भने प्रक्रिया र नेतृत्वको खिचातानीमा नै अल्झिन पुग्यो। टेलिकमले ७७ जिल्लामा फोरजी विस्तार गरिसक्दा पनि न यसको सेवाको दायरा अपेक्षा अनुसार फराकिलो हुन सकेको छ, न त गुणस्तर नै विकास गर्न सकेको छ।
टेलिकमका प्रवक्ता राजेश जोशी शहरको तुलनामा ग्रामीण क्षेत्रमा पहुँच कम र गुणस्तर पनि थोरै हुने बताउँछन्। “सेवा प्रदायकले ग्राहकको संख्या, प्रयोगकर्ता र लगानीपछिको प्रतिफल आदि हेरेर मात्रै सेवाको दायरा फराकिलो बनाउँदै लैजान्छन्, त्यसैले फोरजी सेवा शहरकेन्द्रित हुन पुगेको हो”, उनी भन्छन्।
पछिल्लो समय टेलिकमले सबै जिल्लामा फोरजी सेवा पुर्याएको र प्रमुख शहरमा सेवाको दायरा बढ्दै गएकोले प्रयोगकर्ता भने बढेको टेलिकमको बुझाइ छ।
पहुँच बढ्यो, गुणस्तर बढेन
काठमाडौं कालिमाटीका गणेश नेपाल दशैंमा आफन्तसँग भेटघाटका लागि धादिङको धुनीवेशी पुगेका थिए। मोबाइलमा इन्टरनेट चलाएर क्षेत्रपाटीमा रहेको औषधि व्यवसायको निगरानी गर्ने र सामाजिक सञ्जालमा रमाउने गरेका नेपालले धुनीवेशीमा फोरजी राम्रोसँग नचलेको गुनासो गरे।
उनले गुनासो गरे, “काठमाडौंबाट अलिकति कोल्टो पर्दैमा फोरजीको गुणस्तर कम हुनु सेवा प्रदायकको कमजोरी हो।”
संसदको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काको स्वकीय सचिव नारायण पौडेल दशैं मनाउने क्रममा काठमाडौंबाट रौतहटको चन्द्रपुर पुगेका थिए। त्यहाँ रहँदा मोबाइलको डाटा प्रयोग गरेर सामाजिक सञ्जाल चलाउन पनि असहज भएको उनले गुनासो गरे। “७७ जिल्लामै फोरजी पुर्याएको भन्ने त कुरा मात्रै रै’छ जस्तो लाग्यो”, उनले भने, “टेलिकमले फोरजी सिग्नल देखाउने तर टुजी पनि नचल्ने अवस्था रहेछ।”
दशैंका लागि काठमाडौंबाट दोलखा पुगेका सञ्चारकर्मी युवराज बस्नेतले सामाजिक सञ्जालमै फोरजी नेटवर्क नचलेकोमा आक्रोश पोखे। उनले भने “सेवा प्रदायकले सेवा दिन्छु भनेर प्रतिबद्धता जनाउने तर त्यस अनुसारको गुणस्तरीय सेवा नदिएर ग्राहकमाथि ठगी भइरहेको देखिन्छ।”
फोरजी सेवामा गुनासो गर्ने नेपाल, पौडेल र बस्नेत प्रतिनिधि पात्र मात्रै हुन्। तर, सेवाको दायरा बढाउँदै लगेका सेवा प्रदायकहरूले गुणस्तर सुधार्न भने सकिरहेका छैनन्।
एनसेलले ६ महीना अगाडि नै ७१ जिल्लाको ५४९ स्थानीय तहमा फोरजी सेवा पुर्याइसकेको छ। मोबाइल डाटा सेवा वायरलेस प्रविधि भएकाले प्रयोगकर्ताको स्थान, टावरदेखिको दूरी, नेटवर्कको सिग्नलसहितको प्राविधिक विषयमा भर पर्नुपर्दा गुणस्तरमा फरक पर्ने एनसेलको भनाइ छ। फोरजी नेटवर्कको लागि फ्रिक्वेन्सी कम भएकाले गुणस्तर विस्तार नभएको हुनसक्ने कम्पनीको तर्क छ।
एनसेलले दाबी गरे अनुसार, दूरसञ्चार प्राधिकरणले फोरजी सेवाको विस्तारका लागि दशैं अगाडि उपलब्ध गराएको थप फ्रिक्वेन्सीको प्रयोगले सेवाको गुणस्तर सुधार हुनेछ।
नेपाल टेलिकमका प्रवक्ता जोशी बढी जनघनत्व भएको स्थान वा शहरलाई दृष्टिगत गरेर दिएको सेवा जस्तो गाउँमा गुणस्तर नहुन सक्ने बताउँछन्। यद्यपि गाउँगाउँ लैजाने र ग्राहकले खोजेकै गुणस्तरमा सेवा दिने प्रयास भइरहेको उनको भनाइ छ।
प्रवक्ता जोशी नियामक निकाय दूरसञ्चार प्राधिकरणले तोकेको शर्त र सेवाको दायराभित्र रहेर गुणस्तर सुधार गर्ने नियमित प्रक्रिया अनुसार काम भइरहने बताउँछन्। “सेवा पुगेको ठाउँमा धेरै खराब अवस्था भए प्रयोगकर्ताले टेलिकमको १४९८ नम्बरमा गुनासो टिपाउन सक्छन्”, उनी भन्छन्, “फोरजी विस्तार गर्न फ्रिक्वेन्सी कम रहेकोमा दशैं अघि मात्रै प्राधिकरणले ५ मेगाहर्ज थपेपछि सेवाको गुणस्तर वृद्धिमा त्यसको प्रयोग हुनेछ।”
‘तोकिएको गुणस्तर नभए कारबाही’
‘दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली २०७३’ अनुसार तोकिएको गुणस्तर र शर्त अनुसार सेवा नदिने सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गर्ने बताएको छ। विनियमावलीमा डाटाको बहाव ग्राहकले खरीद गरेको गतिको ७५ प्रतिशत भन्दा बढी हुनुपर्ने, डाटा प्राप्तिको सफलता ८० प्रतिशतभन्दा बढी हुनुपर्नेसहितको शर्त तोकिएको छ।
प्राधिकरणका निर्देशक एवम् प्रवक्ता मीनप्रसाद अर्याल ग्राहकले पैसा तिरेपछि तोकिएको शर्त अनुसार गुणस्तरीय सेवा दिनैपर्ने बताउँछन्। उनका अनुसार, प्राधिकरणले बेलाबेला ‘ड्राइभ टेस्ट’ गरेर सेवा प्रदायकले दिने सेवाको गुणस्तर अनुगमन गरिरहन्छ। यस्तै, सेवाग्राहीले गरेको गुनासोबाट पनि सेवा प्रदायकमाथि नियमन हुन्छ।
सेवाको गुणस्तर कमजोर भएको विषयमा भने गुनासो नआएसम्म र तोकिएको शर्त भन्दा कम नभएसम्म कारबाही नहुने अर्याल बताउँछन्। “कारबाही नै गर्नुपर्ने गरी सेवा प्रदायकले कम गुणस्तरको सेवा दिएको फेला परेको छैन”, उनी भन्छन्, “अहिले कोरोना महामारीका बेला कुनै सेवा प्रदायकको गुणस्तर कम भएको हुनसक्छ, त्यसमा गुनासो आएको अवस्थामा र अनुगमनबाट कमजोरी पाइएमा कारबाही हुन्छ।”
प्राधिकरणले ड्राइभ टेस्टबाट काठमाडौं उपत्यकासहित बाहिरी शहरको पनि अनुगमन गर्ने गरेको छ। ड्राइभ टेस्टबाट एक पटकमा ७ देखि ८ जिल्लामा अनुगमन गरी तोकिएको शर्त अनुसार सेवा दिन सचेत गराउने र आवश्यक कारबाही पनि गराउने गरेको प्रवक्ता अर्याल बताउँछन्।
सेवा प्रदायक आफैंले पनि आफ्नो सेवाको हरेक तीन महीनामा प्राधिकरणलाई रिपोर्ट बुझाउनुपर्ने व्यवस्था छ।
नेपाल टेलिकम र एनसेलले फ्रिक्वेन्सी कम भएकाले गुणस्तरीय सेवा दिन नसकेको गुनासो गर्दै आएका थिए। एनसेलले अक्सनबाट ९ मेगाहर्ज फ्रिक्वेन्सी पाएपछि सोही अनुसारको मूल्यमा नेपाल टेलिकमलाई पनि ५ मेगाहर्जमा फ्रिक्वेन्सी थप भएको हो। फ्रिक्वेन्सी थप गर्दा नै सेवा र गुणस्तको दायरा बढाउनुपर्ने शर्त छ।
यस अनुसार टेलिकम र एनसेलको दूरसञ्चार तथा डाटा सेवा ७७ जिल्लामा पुग्नुपर्ने हुन्छ। यस्तै, सन् २०२२ सम्ममा ९५ प्रतिशत शहरी क्षेत्रमा फोरजी सेवा दिनुपर्ने, ९० प्रतिशत जनसंख्यामा पहुँच पुर्याउनुपर्ने, डाटा गति २० एमबीपीएस भन्दा बढी हुनुपर्नेसहितको शर्त तोकिएको प्राधिकरणले जनाएको छ।