कलाकार सुशीला दाहालको निधन
कलाकार सुशीला दाहालको ६७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि पेल्भिक क्यान्सरबाट पीडित दाहालको अमेरिकाको वाल्थमस्थित हस्पिस केयर सेन्टरमा बिहीबार बिहान निधन भएको हो।
कलाकार दाहालले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग 'लालपूर्जा', 'चिरञ्जीवी' र 'भकुन्डे भुत' लगायत चर्चित टेलीश्रृंखलामा अभिनय गरेकी थिइन्।
उनका एक छाेरा र एक छाेरी छन्। त्यस्तै लामाे समयदेखि अलग बस्दै आएका उनका श्रीमान् बद्री दाहालकाे पनि यही मंगलवार अष्ट्रेलियामा निधन भएकाे उनकाे पारिवारिक स्राेतले जानकारी दिएकाे बोस्टनबाट पत्रकार कृष्णराज खनालले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
पत्रकार खनालले पारिवारिक स्राेतलाई उद्धृत गर्दै उनका छाेरा टेक्ससमा बसाेवास गर्ने भएकाेले दाहालको अन्तिम दाहसंस्कार पनि दुईतीन दिनपछि टेक्ससमा लगेर गरिने भएकाे छ।
कलाकार हरिवंश आचार्यले पनि दाहाललाई समाजिक सञ्जाल फेसबुकमार्फत स्मरण गरेका छन्।
"आदरणीय दिदी शुसिला दहालले हाम्रा लालपुर्जा, चिरन्जिबी लगायत धेरै टेलिचलचित्रमा अभिनय गर्नु भएको स्मरण ताजै छ। उहाँको निधनले हामीलाई मर्माहत गरेको छ", कलाकार आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।