दश हजारभन्दा बढी विद्यार्थीलाई ४२ जना शिक्षकको भर, शिक्षण सिकाइ क्रियाकलाप प्रभावित
सर्लाहीको एउटा स्थानीय तहमा विद्यार्थीको अनुपातमा शिक्षक संख्या अत्यन्त न्युन हुँदा शिक्षण सिकाइ क्रियाकलापमा गम्भीर प्रभाव परेको पाइएको छ। रामनगर गाउँपालिकामा विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या दश हजारभन्दा बढी रहेको भए पनि ४२ शिक्षक मात्र रहेको शिक्षा शाखा संयोजक रामपवित्र साहले जानकारी गराएका छन्।
गाउँपालिकामा दुईवटा माध्यमिक विद्यालय रहेका छन्, तर स्थायी शिक्षक दरबन्दी एउटा पनि छैन। चारवटा राहत दरबन्दीको भरमा दुईवटा माध्यमिक विद्यालय सञ्चालित छन्। यसैगरी गापामा तीनवटा निम्न माध्यमिक तहको विद्यालयमा दुई राहत र चार स्थायी दरबन्दी गरी जम्मा छ दरबन्दीमा शिक्षक कार्यरत छन्। गापाभित्र ११ प्राथमिक विद्यालयमा ३२ शिक्षक कार्यरत छन्। गापामा प्राथमिक तहका आठ दरबन्दी रिक्त रहेको शिक्षा संयोजक साहको भनाइ छ।
विद्यालयहरूमा विद्यार्थीको चाप अत्यधिक रहेको तथा विद्यार्थी–शिक्षक अनुपात नमिलेकोले एकातिर कक्षा व्यवस्थापनमा समस्या भएको र अर्कोतिर शिक्षण–सिकाइ क्रियाकलाप प्रभावकारी हुन नपाउँदा गुणस्तरीय शिक्षाबाट बालबालिका वञ्चित हुनुपरेको संयोजक साहको दाबी छ।
गाउँपालिकाले विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक सामग्री, भौतिक पूर्वाधार तथा पठनपाठनमा सुधार ल्याउन व्यापक लगानी गर्दै आएको छ। स्वयम् सेवक शिक्षक राख्न गापाले वर्षेनी ३० देखि ४० लाख रुपैया संस्थागत अनुदान विद्यालयहरूलाई उपलब्ध गराउने गरेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद वर्माले बताएका छन्।
अत्यन्त न्युन तलबमा विद्यालयहरूले दुई दर्जनभन्दा बढी स्वयम् सेवक शिक्षक राखेर काम चलाइरहेको संयोजक साहको भनाइ छ। गापामा शिक्षकको अत्यधिक अभावका बिच पनि शिक्षकहरूको लगन र परिश्रम सराहनीय रहेको साहको दाबी छ।
थप दरबन्दीको लागि गाउँपालिकाले सम्बन्धित निकायमा पटकपटक लेखी पठाएको भए पनि अहिलेसम्म कतैबाट कुनै सकारात्मक पहल नभएकोले आन्तरिक व्यवस्थापनमा निकै कठिनाइ झेल्नुपरेको साहको भनाइ छ।