राष्ट्रिय फुटबल टोलीका थप एकजना खेलाडीलाई कोरोना संक्रमण
बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडीमध्ये पाँच खेलाडीमा संक्रमण पुष्टि भएको छ। मैत्रिपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघले प्रारम्भिक चरणका लागि बोलाएका पाँच खेलाडीमा कोरोना पुष्टि भएको एन्फाले जनाएको हो।
संक्रमित खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन। प्रशिक्षणको पहिलो दिन चार जना खेलाडीमा कोरोना देखिएकोमा फेरी शुक्रबार थप एक जना खेलाडीमा कोरोना पोजिटिभ देखिएको टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए। अहिले पाँचै जना आइसोलेसनमा रहेका छन्।
मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन्। गत चैतमा सरकारले बन्दाबन्दी घोषणा गरेसँगै खेलकुद क्षेत्र ठप्प भएका थिए। जसमा फुटबल पनि परेको थियो।
दक्षिण एसियाली मुलुक बंगलादेशले दुई मैत्रीपूर्ण खेलका लागि नेपाललाई प्रस्ताव गरेपनि सरकारको अनुमती नपाएपछि एन्फाले कुनै निर्णय लिन सकेको थिएन। तर सरकारले दशै लगत्तै प्रशिक्षणको अनुमती दिएसँगै एन्फाले बिहीबारबाट प्रशिक्षण आरम्भ गरेको हो। खेल २८ कात्तिक र २ मंसिरका तय भएका छन्।