ओलीको सन्देश लिएर परराष्ट्रमन्त्री पनि खुमलटारमा, ओली-दाहाल संवादहीनता कायमै
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि पहल गर्न आग्रह गर्दै नेकपा स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन्।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको सन्देश बोकेर ज्ञवाली शुक्रबार बिहान दाहाललाई भेट्न दाहालनिवास खुमलटार पुगेका हुन्। तर, लामो समयदेखिको ओली–दाहालबीचको संवादहीनता भने कायमै छ। शुक्रबार बिहान ज्ञवालीले दुई अध्यक्षबीच कुराकानी गराउन खोजे पनि सफल भएनन्।
“म सोही पार्टीको नेता भएकोले आफ्नो अध्यक्षलाई भेट्नु सामान्य नै हो। समसामयिक विषयमा अध्यक्षलाई भेट्न गएको हुँ”, ज्ञवालीले भने। उनले आफूले दुई अध्यक्षबीच फोन संवाद भने नगराएको बताए।
खासगरी नेकपाको कर्णाली प्रदेशमा देखिएको विवादले उत्पन्न परिस्थिति र मन्त्रिमण्डल पुनर्गठनपछि दुई अध्यक्षबीच विवाद छ। भेटघाट र संवाद पनि बन्द छ।
दुई अध्यक्षबीच संवादको वातावरण बनाउन बुधबार संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष दाहाललाई भेटेका थिए। त्यसको भोलिपल्ट बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल दाहाललाई भेट्न खुमलटार पुगेका थिए।
कर्णाली प्रदेशका मुख्यमन्त्री एवं दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै सांसदले संसदीय दलमा असोज अन्तिम साता अविश्वासको प्रस्ताव पेश गरेका थिए। त्यसको नेतृत्व ओली समूहका यामलाल कँडेलले गरेका थिए। कँडेललाई साथ दिएका माधवकुमार नेपाल समूहका सांसद पछि हटेपछि अविश्वासको प्रस्ताव संसदीय दलमा बहुमतले अस्वीकृत भइसकेको छ।
विवाद समाधानका लागि अध्यक्षद्वयले कर्णालीका नेता काठमाडौं बोलाएका थिए। उनीहरुसँग छुट्टाछुट्टै छलफल पनि गरेका थिए। तर, कुनै ठोस निर्णय नभएपछि कर्णालीका नेता काठमाडौंबाट फर्किएका थिए।
त्यसपछि ओली-दाहालले छुट्टाछुट्टै पत्र लेखेका थिए। ओलीले मुख्यमन्त्री शाहीलाई पत्र लेखेर प्रमुख सचेतकबाट हटाइएका गुलाबजंग शाहलाई सोही जिम्मेवारी दिँदै विवाद समाधान गर्न भनेका थिए भने दाहालले प्रदेश इञ्चार्ज जनार्दन शर्मालाई पत्र लेख्दै प्रदेशमा देखिएको समस्या प्रदेश तहबाटै समाधान गर्न भनेका थिए।
यसबीचमा ओलीले दाहाललाई बालुवाटार बोलाए पनि गएका छैनन्। दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दाहाल अहिले निवासमै अध्ययन र लेखनमा समय बिताइरहेका छन्।