१८० जना प्रहरीको टोली सुडान जाँदै, आईजीपीले गरे बिदाइ
सुडानको डार्फरस्थित 'एफपीयू यूनामिड मिसन'मा जान लागेका १८० जना प्रहरीलाई प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले शुक्रबार बिदाइ गरेका छन्।
संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यअन्तर्गत फर्मड पुलिस युनिट (एफपीयू) को रूपमा डार्फरस्थित युनामिड मिसनका १७औं समूहमा खटिएर जान लागेका प्रहरीलाई बिदाइ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रप्रसाद मैनालीको नेतृत्वमा सो टोली सुडान जान लागेको हो। एसपी कन्टिन्जेन्ट कमाण्डर रहने सो मिसनमा चारजना डीएसपी, ७ जना इन्स्पेक्टर, २४ जना सई, १७ जना असई, ५५ जना हवल्दार, ६५ जना प्रहरी जवान र ७ जना कार्यालय सहयोगी सामेल छन्।
उनीहरू दुई टोली बनेर १७ कात्तिक र ११ मंसीरमा सुडान प्रस्थान गर्ने जानकारी प्रहरी प्रधान कार्यालयले दिएको छ।