मधेशबाट हिमाल हेर्दा (तस्वीरहरु)
देशको भौगोलिक बनावटमा हिमाल, पहाड र तराईको खुड्किला छन्। यसैले तराई-मधेशका लागि हिमाल टाढा र निकै दुर्गम भेग हो। मधेशबाट हिमाल हत्तपत्त देख्न सकिंदैन। देखिए पनि प्रष्ट देखिंदैन। पछिल्लो समय भने वायु प्रदूषणरहित सफा आकाश हुँदा तराईका विभिन्न ठाउँबाट हिमाल देखिन थालेको छ।
शुक्रबार बिहान प्रदेश २ को सप्तरीबाट हिमाल उघ्रेको देखियो। सप्तरीको राजविराज नगरपालिका-१ पडरियाका स्थानीय परमेश्वर झाले खिचेको तस्वीरमा हिमशृंखला प्रष्ट देखिएको छ। पडरिया राजविराजदेखि ३ किलोमिटर पूर्वोत्तर भागमा पर्छ।तस्वीरमा धानका बाला झुलेका तराईका फाँट, पहाडी थुम्का, त्यहाँभन्दा माथि लमतन्न हिमाल र खुलेको नीलो आकाश देखिन्छ।
झाका अनुसार, यसअघि पनि हिमाल त देखिन्थ्यो, तर यति प्रष्ट देखिंदैनथ्यो। "यसपालि एकदम राम्रो देखिएको छ। यति खुलेको मौसममा छ्याङ्ङ हिमाल देख्दा आफैं दंग परें", उनले भने। यी तस्वीरमा मधेशबाट नुम्बुर, मकालु, चो यु, चाम्लाङ हिमाल देखिएका छन्।
हेरौं, शरद यामको खुलेको मौसममा झाले सप्तरीबाट शुक्रबार बिहान साढे नौ बजेतिर खिचेको दृश्य:
तस्वीर: आकार अनिल
तस्वीर: सौरभ ढकाल