कोरोना संक्रमित पत्रकार चौलागाईंको निधन
कोरोनाभाइरस संक्रमित काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंको निधन भएको छ।
काभ्रेबाट प्रकाशन हुने काभ्रे पोस्ट साप्ताहिक पत्रिकाका प्रधान सम्पादक समेत रहेका ५१ वर्षीय चौलागाईंको उपचारका क्रममा काठमाडौंस्थित ओम अस्पतालमा मृत्यु भएको हो।
२६ असोजमा कोरोना पुष्टि भएका पत्रकार चौलागाईं होम आइसोलेसनमा बसेका थिए। तर, स्वास्थ्यमा समस्या देखिएपछि उनलाई १ कात्तिकमा अस्पताल भर्ना गरिएको थियो।
उनको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको परिवारले जानकारी गराएको छ। पत्रकार चौलागाईं ब्रोनकाइटिस पीडित थिए। उनी २२ वर्षदेखि पत्रकारितामा क्रियाशील थिए।