वुहानबाट काठमाडौंलाई चिठी
वुहानमा बसिरहनु सामान्य निर्णय थियो। मानवीय सहायताको क्षेत्रमा काम गरिरहेकी म यस्तो उच्चस्तरको सङ्कट देखापरिरहँदा मैले छोड्ने कुरा भएन।
यो नयाँ भाइरसले ११ मिलियन जनसंख्या भएको वुहान शहरलाई २३ जनवरीसम्ममा ठप्प बनाउँदा यो भाइरस मेडिकल विज्ञानका लागि एक रहस्य नै रहिरहेको थियो। परीक्षणको दायरा अझैसम्म विस्तारित रूपमा उपलब्ध थिएन, र अस्पतालहरू आफ्नो क्षमता भन्दा बढी मानिसहरूको उपचार गर्न विवश थिए।
पहिलो रिपोर्ट डिसेम्बर २०१९ आएको थियो। जस अनुसार एक रहस्यमयी भाइरसले निमोनिया गराइरहेको थियो र, त्यो २००२–०३ मा चीनलाई प्रभावित पारेको सार्ससँग मिल्दोजुल्दो थियो। सबै संक्रमितहरू वुहानको वेट मार्केटसँग सम्बन्धित थिए। सो मार्केट बन्द गरी, संक्रमणमुक्त बनाइयो र परीक्षणहरू गरियो।
म आफै संक्रमित भएकी छु कि छैन भनेर थाहा पाउने केही पनि उपाय थिएन। उक्त संक्रमित भाइरस नेपाल लैजाने भाइरसबाहक हुन मलाई मन थिएन, जहाँ कुनै केस देखा परेको थिएन, र जस्तोसुकै परिस्थितिमा पनि म बिरामी भए वुहानमा नै उत्कृष्ट मेडिकल सेवाहरू उपलब्ध थिए।
वुहानमा ७ फेब्रुअरीमा आइपुग्दा महामारीको जोखिम उच्च तहमा पुगेको थियो। ८ फेब्रुअरीदेखि हामी आफ्नो कोठामा सीमित भयौं। परिस्थिति बिग्रने क्रममा छ भन्ने स्पष्ट भइसकेको थियो। मैले आफ्नो अनुभूतिहरू राख्न मन भएकाहरूका लागि अनलाइन मानसिक स्वास्थ्य साथी सहायता समूह शुरू गरें।
यो महामारीपूर्व पनि चीनमा संक्रामक रोगप्रति मानिसहरू सामान्यतया सतर्क रहन्थे। विगतमा पनि जटिल महामारीहरूको सामना गरेकाले र उच्च जनघनत्वलाई विचार गर्दा सार्वजनिक स्वास्थ्य सन्देश प्रवाह गर्नु साधारण विषय हो।
चिनियाँ नयाँ वर्षको ठीक अघिल्लो दिन, २३ जनवरीमा शहरमा बन्दाबन्दी गरियो। नेपालमा दशैंको बेलामा जस्तै यो समयमा यहाँका मानिसहरू घर जाने गर्दछन्। सबै सार्वजनिक यातायात, व्यवसाय, बजार अनिश्चितकालका लागि बन्द गरियो। निजी सवारी केही आकस्मिक काम भए या दैनिक आवश्यकताका लागि अनुमतिपत्रसहित मात्र सडकमा गुड्न पाउँथे।
यो घोषणासँगै अन्तर्राष्ट्रिय विद्यार्थी तथा आप्रवासीमार्फत सन्त्रासको लहर उत्पन्न भयो। आवश्यक सावधानी लिनुपर्ने बहसबाट कूटनीतिक माध्यममार्फत आआफ्ना सरकारसमक्ष उद्धारका लागि अनुरोध गर्नमा केन्द्रित हुन पुग्यो।
२९ जनवरीसम्म जापान, दक्षिण कोरियाले आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगे भने युरोपेली संघले स्वदेश फिर्ताको योजनाहरू अघि सा¥यो। अष्ट्रेलिया र न्युजिल्याण्डले पनि आआफ्ना नागरिक फिर्ता लगे। यो बेलासम्म फिर्ता लैजाने योजना पश्चिमा देशहरूले आफ्नो नागरिकको सुरक्षा सुनिश्चित गर्नलाई चालेको कदम भनेर बुझियो।
जब भारत र बङ्गलादेशले आफ्ना नागरिक लैजाने योजनाहरूको घोषणा गरे यो परिस्थितिको गम्भीरता आभास भयो, जसले नेपाल जस्ता राष्ट्रका विद्यार्थीमा चिन्ता बढ्न थाल्यो।
२६ जनवरीमा बेइजिङस्थित नेपाली राजदूतावासले आधिकारिक सूचना र विच्याट समूहहरू मार्फत हुबेइ प्रान्तमा रहेका विद्यार्थीसँग सम्पर्क गर्यो। फेब्रुअरीको पहिलो हप्तासम्म धेरै देशले आफ्ना नगरिक फिर्ता लगिसकेका थिए र होस्टलहरू खाली हुन थालेका थिए।
नेपालबाट गएका विद्यार्थी आफ्ना अभिभावक र नातागोतामार्फत काठमाडौंमा रहेको सरकारसँग सम्पर्क गर्न थाले। ३० जनवरीमा आएर बल्ल बेइजिङमा रहेको दूतावासले स्वदेश फर्कन चाहनेहरूले निवेदन दिनुपर्ने सूचना पठायो।
सरकारले हरसम्भव प्रयास गरिरहेको भएतापनि यो कुरा प्रष्ट भयो कि यस्तो परिस्थितिका लागि केही पनि आकस्मिक योजना सरकारसँग थिएन। ढिलाइको कारण नागरिक उद्धारको सम्बन्धमा कानूनको अभाव रहेकोदेखि पाइलटहरू नभेटिएको भनेर भनियो।
११ फेब्रुअरीमा आएर बल्ल १५ फेब्रुअरीमा नेपाल एअरलाइन्सको जहाज वुहानका लागि प्रस्थान गर्ने र विमानस्थल आइपुग्न विभिन्न विश्वविद्यालयका बसहरू मिलाइने घोषणा गरियो।
नेपाली राजदूतावास यति काम गर्न सफल भयो। यद्यपि सबै जना नेपाली फिर्ता हुन भनेसकेनन्। निवेदन दिएका १८० नेपालीमध्ये ६ जनाको शरीरको तापक्रम ३७.३ सेल्सियस भन्दा माथि भएकाले जहाज चढ्न पाएनन्।
बन्दाबन्दी गरिएको पहिलो दुई हप्तासम्म हरेक तीन दिनमा एक पटक परिवारको एक जना मात्रै घरबाहिर गएर दैनिक आवश्यक वस्तु खरीद गर्न सक्थे। पहिलो दुई हप्ता पश्चात प्रतिबन्धहरू अझ कडा पारियो र एक जना खरीदकर्तालाई पनि सुपरमार्केटमा प्रवेश गर्न दिइएन।
आवश्यक वस्तु ठूलो परिमाणमा खरीद गर्न समुदायका स्वयंसेवकहरू खटाइए र ती वस्तुलाई हरेक समुदायको संकलन केन्द्रमा पुर्याइयो, जहाँबाट सम्बन्धित समुदायका परिवारले ती वस्तु प्राप्त गर्न सक्थे।
छात्रावासमा बसिरहेका विद्यार्थीलाई दिनको तीन छाक खाना निःशुल्क उपलब्ध गराइयो। मास्क, थर्मोमिटर, प्रतिरक्षा प्रणाली बलियो बनाउने पेयहरू एवं स्यानिटरी प्याड नियमित प्रदान गरिन्थ्यो।
चीनमा देशभरबाट हजारौं मेडिकलकर्मीहरू महामारी विरुद्ध लड्नका लागि सहयोग गर्न एकताबद्ध भए। चुनौतीहरू धेरै थिए तर अनुशासन र सामूहिक प्रयासबाट महामारी बिस्तारै बिस्तारै नियन्त्रणमा आयो। ८ अप्रिलमा शायद संसारकै कडा बन्दाबन्दीको ७६ दिन पश्चात शहर आंशिक रूपमा खुल्यो।
२२ मेमा वुहानमा रहेका हरेक मानिसको परीक्षण गरियो। प्रतिबन्धहरू हटाइएपछि पनि मानिसहरू एकैचोटि सडकमा ओइरिएनन्। त्यसपछि महीनौंसम्म पनि दूरी कायम गरियो। आजसम्म पनि मानिसहरू सबै सार्वजनिक ठाउँमा मास्क लगाउँछन्, भवनभित्र र बसहरूमा पनि मास्क लगाउँछन्। वुहानमा एकजना पनि संक्रमित नभएको अचेल पाँच महीना भए पनि यी नियमहरू विद्यमान छन्।
त्यसपश्चात महामारी वुहानबाट संसारका कुनाकाप्चासम्म फैलियो। नेपाल पनि अपवाद रहन सकेन। संक्रमित हुनेको संख्या उत्कर्षमा पुगी त्यसपश्चात घट्दो क्रम हुनलाई नेपालको परिस्थिति उच्चतम विन्दु पुग्न अझै धेरै समय छ।
यसका लागि विशाल सामूहिक प्रयास अपरिहार्य छ, तर नेपालले चीनबाट सिक्न सक्ने कुराहरू छन्। न त सरकार न त सर्वसाधारणले नै आफ्नो बलबुतामा संक्रमण फैलिने क्रमलाई रोक्न सक्छन्। नेपालीको संस्कृतिमा अन्तर्निहित परोपकारको भावना नेपालीमा जागृत हुँदैछ, र यसको उपयोगले नै हामी बितेका शताब्दीहरूमा देखा परेका विभिन्न विपद् र महामारीबाट बाँच्न सफल भएका छौं।
तर यस पटक नेपालमा परिस्थिति अद्वितीय छ। नेपालको स्वास्थ्यसेवा प्रणालीअनुकूल समयमा पनि पूर्ण हुनबाट धेरै पर छ। अस्पतालहरू खचाखच भरिइसकेका छन्। तसर्थ अहिले हामीले गर्न सक्ने सबैभन्दा राम्रो कदम भनेको सार्वजनिक अनुशासन कायम गरी आफूलाई सुरक्षित राख्ने एवं एक अर्कासँग शारीरिक दूरी कायम गर्ने हो।
नेपालीहरू कठिनाइहरूसँग अनभिज्ञ छैनन् र दृढ छन्। कठिन परिस्थितिसँग जुझेर बाँच्न सक्ने कलामा हामी पोख्त भएका छौं। सहायताका लागि स्वयंसेवा गरी एकअर्काको ख्याल राख्नुबाहेक अरू उत्तम उपाय छैन।
टोल र वडा तहमा एकअर्कालाई संगठित गर्ने र जजसलाई सहयोगको आवश्यकता रहेको हुनसक्छ त्यस सम्बन्धमा हामीले ध्यान पुर्याउनुपर्छ जसले गर्दा यो कठिन घडीबाट पार पाउन सबैजनाको सम्भावना प्रबल हुनेछ।
(श्रेष्ठ, वुहान विश्वविद्यालय, चीनमा विद्यावारिधिकी छात्रा हुन्।)