विश्वकै अग्लो स्विङ र दोस्रो अग्लो बन्जी १५ कात्तिकदेखि पवर्तको कुश्मामा सञ्चालन हुँदै
पर्वतको कुश्मामा निर्मित विश्वकै अग्लो स्विङ र दोस्रो अग्लो बन्जी १५ कार्तिकदेखि सञ्चालनमा आउने भएको छ। द क्लिफ प्रालिले कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङलगायत सहासिक खेल १५ कात्तिकदेखि सञ्चालनमा ल्याउने भएको हो।
कालीगण्डकी नदिको माथि ५२५ मिटर लामो झोलुङ्गे पुलको बीचमा बन्जी र स्वीङको लागि जम्प गर्ने प्लेटफर्म निर्माण गरिएको छ । खोलादेखि पुलको उचाई २ सय २८ मिटर छ।
हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाई र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँधमाथि ७२० फिट उचाईमा रहेको छ। कुश्माको बन्जी सञ्चालनमा आएपछि बिश्वकै दोस्रो अग्लो बन्जी हुने द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीको भनाइ छ।
त्यस्तै यहाँको स्वीङ बिश्वकै अग्लो भएको कार्कीको दाबी छ। बन्जी र स्वीङ गर्नको लागि ७÷७ हजार तिर्नुपर्ने छ। पोखरादेखि कुश्माको दुइतर्फी गाडीको सुबिधासहित बन्जी वा स्विङको ८ हजार ४ सय ५० रहेको छ। टेण्डम (जोडी स्वीङ) को १२ हजार रुपैयाँ शुल्क तोकिएको कार्कीले बताए।
२०७३ सालदेखि पुलको निर्माण शुरू गरिएको थियो। पुलसंगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि बन्दाबन्दीले गर्दा सञ्चालनमा आउन ढिलाई भएको कम्पनीका अध्यक्ष कार्कीले बताए। बन्जी, स्वीङ गर्न आउने पर्यटकहरूलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गराउने उनले बताए।
सम्पुर्ण परियोजना लागत २८ करोड पुगेको कार्की बताउँछन्। कोरोना भाइरसको महामारीका कारण सञ्चालनमा ढिलाई हुँदा थप घाटा बेहोर्नु परिरहेको उनले बताए। “अहिले पनि चुनौती छ। तर, सञ्चालन नगरेर बस्न सक्ने अवस्था पनि छैन। अहिले त हामी गर कि मरको स्थितिमा छौं। त्यसैले सबै कुरालाई ध्यानमा राखेर शुरू गर्न लागेका हौं”, उनले भने।
कम्पनीका अनुसार बन्जी र स्विङका लागि बनाइएको पुलको लगानी मात्र ८ करोड बढी रहेको छ। १ सय २० रुपैयाँ तिरेर उक्त पुल वारपार गर्न सकिन्छ।
गुलेली पिङ र स्काइ साइक्लिङ
गुलेली पिङ सञ्चालनमा छ भने स्काई साईक्लिङ सञ्चालनमा आउन केही समय लाग्ने कम्पनीले जनाएको छ। बन्जीका लागि निर्माण भएको पुलको उचाईभन्दा माथि बनेको गुलेली शैलीको पिङको उचाई नदीबाट २ सय ४८ मिटर छ। जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङभन्दा फरक रहेको कम्पनी अध्यक्ष कार्की दावी गर्छन्। यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडिबाट मेसिनले तानेर गुलेली हानेको शैलीमा छोडिन्छ अनि पिङ मचिन्छ। पिङ खेल्न प्रतीव्यक्ति २ सय ५० रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्काइ साइक्लिङ तयार गरिएको कम्पनीले जनाएको छ। यसको सञ्चालन र सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने कार्कीले बताए। साइकल र यात्री दुबैलाई सुरक्षा डोरीले अड्काइएको हुन्छ। लिकमा रेल गुडेझैं फिक्स ह्याण्डल भएको साइकललाई रोपमा कुँदाइन्छ। स्काई साइक्लीङ २ सय २८ मिटर अग्लो र लम्बाई तीन सय मिटर रहेको छ।
साइक्लिङका लागि आवस्यक साइकल र अन्य सुरक्षा उपकरण कम्पनीले नै प्रदान गर्ने कार्कीले बताए। बाग्लुङ्गको बलेवामा २५ रोपनी क्षेत्रफलमा ‘द क्लिफ रिसोर्ट’ बनेको छ। २१ वटा सफारी टेन्ट रहेको रिसोर्टमा ७० जना अट्ने कम्पनीले जानकारी दिएको छ।
तस्बिरहरु ‘द क्लिफ रिसोर्ट’