खुल्दैन नेकपाको वेबसाइट, कांग्रेसको भने नियमित अपडेट
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्यु्निष्ट पार्टी नेकपा बनेपछि पार्टीको वेबसाइट (ncp.org.np) सञ्चालनमा ल्याइएको थियो। सञ्चालनमा ल्याएपनि पछिल्लो झण्डै डेढ वर्षदेखि वेबसाइट अपडेट भएको छैन।
अपडेट त परकै कुरा, इन्टरनेटको ब्राउजरमा समेत राम्रोसँग खुल्दैन। भताभुंग अवस्थामा रहेको उक्त वेबसाइट खुलेपछि ३१ साउन २०७६ मा बसेको पार्टी बैठकको निर्णय र पार्टीका जिल्ला अध्यक्ष तथा इन्चार्जहरूको नामावलीको सूचीको लिंक देखिन्छ। तर त्यहाँ क्लिक गर्दा केही पनि खुल्दैन।
पार्टी एकता हुनुअघि तत्कालीन नेकपा एमालेको वेवसाइटमा पुराना दस्तावेजदेखि पार्टीका गतिविधि अपडेट हुने गरेको थियो। अहिले त्यो वेवसाइटमा पनि ‘हामी (ncp.org.np) चाँडै आउँदैछौं’ भनेर सन्देश राखिएको छ।
पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली (kpsharmaoli.com.np) र पुष्पकमल दाहाल (cmprachanda.com) देखि अन्य कतिपय नेताहरूका पनि वेबसाइट छन्। त्यसमध्ये कतिपय नियमित अपडेट हुने गरेका छन्।
नेकपा पार्टी कार्यालयका सचिव इश्वरी रिजालले यति ठूलो पार्टीको वेवसाइट अपडेट नहुनुले पार्टी कति लथालिङ्ग छ भनेर देखाउने बताए। “पार्टी कार्यालयको काम गर्ने प्राविधिक कर्मचारी नेता र मन्त्रीहरूले लैजान्छन्। पार्टीको वेबसाइटको हालत यस्तो छ”, उनले भने। वेबसाइट अबदेखि निरन्तर अपडेट हुने उनले बताए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको वेबसाइट भने नियमित अपडेट हुने गरेको छ। कांग्रेसले केही महीनायता नयाँ वेबसाइट (https://www.nepalicongress.org) सञ्चालनमा ल्याएको छ। जसमा पार्टीको बैठक बस्ने सूचना तथा प्रेस वक्तव्य, पार्टी नेताहरूका कार्यक्रमहरूका सूचनासमेत अपडेट गरिएका हुन्छन्। त्यस्तै वेबसाइटमा ‘अनलाइन संग्रहालय’, ‘अनलाइन लाइब्रेरी' समेत राखिएको छ।
संग्राहालयमा पुराना केही तस्वीर र भिडियोहरू राखिएका छन् भने अनलाइन लाइब्रेरीमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको पुस्तक ‘ड्रिम्स फ्रम माइ फादर’ तथा लक्ष्मी प्रसाद देवकोटा र वीपी कोइरालाका चर्चित पुस्तकहरू डाउनलोड गरेर पढ्न मिल्ने गरी राखिएको छ। पार्टीका केही पुराना दस्तावेज र विधानहरू पनि कांग्रेसको वेबसाइटमा राखिएको छ।