पर्सामा नेकपाको हिंसात्मक मुठभेड: संविधानसभा सदस्य गुप्तासहित १२ जनाविरुद्ध हत्याको जाहेरी दर्ता
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साका कार्यकर्ता मुकेश चौरसिया हत्या प्रकरणमा सोही पार्टीकै नेता एवं संविधानसभा सदस्य राजकुमार गुप्तासहित १२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले आज मुद्दा दर्ता गरेको हो ।
नेकपाकै दुई पक्षबीच गएको बिहीबार झडप हुँदा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो। हत्याको घटनामा संलग्न रहेको भन्दै मुख्य योजनाकारका रूपमा गुप्तालाई र अन्य गरी १२ जनाविरुद्ध किटानी जाहेरी परेको थियो। तर प्रहरीले मुद्दा दर्ता नगरेको भन्दै आफन्तसहित पार्टीका केही नेताहरू सरकारी वकिलको कार्यालयमा गएका थिए।
नेकपा पर्साका सचिव विजय महतोले एक हप्ताको सडक आन्दोलनपछि सरकारी वकिलको कार्यालयमार्फत आज दिउँसो मुद्दा दर्ता भएको बताए। “मुख्य योजनाकार राजकुमार गुप्ता हुन्, तर उनी घटना भएलगत्तै पक्राउ परेर त्यही राती प्रहरीले छोडिदियो। फेरि दोषीमाथि कारबाही भएन भने आन्दोलन हुन्छ”, उनले भने।
प्रहरीले मुद्दा दर्ता नगरेको बारे जिल्ला प्रहरी कार्यालयका एसपी गंगा पन्तले घटनाको प्राप्त प्रमाण र तत्कालीन वस्तुस्थिति तथा किटानी जाहेरीमा लेखिएका कतिपय कुराहरू फरक परेको भएकाले अनुसन्धान गर्न तत्कालै मुद्दा दर्ता नगरिएको बताइन्। “तत्कालीन अवस्थामा जाहेरी दर्ता गर्दा झन् ठूलो द्वन्द्व बढ्ने खालको अवस्था थियो। हामी अनुसन्धान गर्छौं भनेर अनुरोध गरेका हौं, तर उहाँहरु एकपटक आएर सडक आन्दोलनमा जानुभयो । आज सरकारी वकिलको कार्यालयमार्फत आएपछि नियम अनुसार हामीले मुद्दा दर्ता गर्नुपर्थ्यो र दर्ता गरेका हौं”, उनले भनिन्.
मृतकको चौरसियाको शव नारायणी अस्पतालमा राखिएको छ। भोलि पोस्ष्टमार्टमपछि अन्त्यष्टी गरिने परिवारसँग सल्लाह भएको पार्टी सचिव महतोले बताए।