र्यापर भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले दियो साइबर ब्यूरोलाई निर्देशन
र्यापर भिटेन उपनामले चर्चित समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई निर्देशन दिएको छ। एक साताअघि युट्युबमा भिटेनको ‘पारा’ शीर्षकमा सार्वजनिक भएको र्याप भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएको भन्दै प्रहरी प्रधान कार्यलयले कारबाही गर्न साइबर ब्यूरोलाई पत्र लेखेको हो।
अहिले साइबर ब्यूरोले अनुसन्धान गरिरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए। भिटेनले र्याप भिडियोमा आपत्तिजनक शब्द प्रयोग गर्नुको साथै प्रहरीलाई समेत दुर्वचन प्रयोग गरेकाले कारबाही गर्न निर्देशन दिएको एसएसपी कडायतले बताए। उनले भने, “भिडिओमा प्रयोग भएका शब्द सभ्य समाजले पचाउने खालका छैनन्। नेपाली समाज, महिला र प्रहरीलाई आपत्तिजनक भाषा प्रयोग गरेको देखिन्छ।”
यसअघि महानगरीय अपराध महाशाखाले भिटेनलाई आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा पक्राउ गरेको थियो।
त्यसबेला उनलाई भिडिओ युट्युबबाट हटाउन लगाउनुका साथै अब त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा प्रहरीले बिना कारबाही रिहा गरेको थियो।