सात महीनामा शेयर बजारमा लगानीकर्ताको सम्पत्तिको मूल्य रु. ६ खर्बले बढ्यो
गत चैतमा बन्दाबन्दी शुरु हुनुअगाडि नेपाल स्टक एक्सचेन्जको कुल बजार पुँजीकरण करीब रु. १६ खर्ब थियो। बन्दाबन्दीपछि लामो समय बजार पनि बन्द रह्यो। जब बजारमा कारोबार सुचारु भयो, नेप्से परिसूचक लगातार उकालो चढेसँगै बजार पुँजीकरण रकम पनि बढ्यो। बिहीबार बजार पुँजीकरण रकम रु. २१ खर्ब ९८ अर्ब ६८ करोड पुगेको छ। बुधबार त यो रकम रु. २२ खर्ब नाघेको थियो।
यस हिसाबले सात महीनाको अवधिमा बजारमा सूचिकृत शेयरको मूल्य करीब रु. ६ खर्बले बढेको छ। नेप्सेमा सूचिकृत कम्पनीका कुल शेयर संख्याको अन्तिम मूल्यको योग नै बजार पुँजीकरण हो। कम्पनीहरुको शेयर संख्या र मूल्यलाई गुणन गरेर बजार पुँजीकरण निकालिन्छ। अर्को हिसाबले भन्दा यो शेयर बजारमा लगानी गरेका लगानीकर्ताको कुल सम्पत्तिको मूल्य पनि हो। यस हिसाबले पछिल्लो सात महीनामा लगानीकर्ताहरुको शेयर सम्पत्तिको कुल मूल्य करीब रु. ६ अर्बले बढेको छ।
बुधबारको बजार पुँजीकरण अहिलेसम्मकै सर्वाधिक धेरै हो। १२ साउन, २०७३ मा नेप्सेले सर्वाधिक १ हजार १८१ अंकको उचाई छुँदा बजार पुँजीकरण करीब रु. २० खर्ब ७१ अर्ब पुगेको थियो। अहिले नेप्से १ हजार ६४५ विन्दुको आसपास हुँदा पनि बजार पुँजीकरण उच्च अवस्थामा पुगेको हो।
बजारमा सूचिकृत कम्पनीहरुको शेयरको मूल्य बढेको कारणले मात्र होइन्, बजारमा शेयरको आपूर्ति थपिएकाले पनि बजार पुँजीकरण उच्च भएको हो। यो बीचमा ब्यांक तथा वित्तीय संस्थाको पुँजी चार गुणा बढेसँगै बोनस र हकप्रद गरी शेयर आपूर्तिमा ठूलो वृद्धि भएको छ। जलविद्युत, बीमा लगायतका कम्पनीका हजारौं कित्ता शेयर पनि सूचिकृत भएका छन्। यी सबैको कारणले बजार पुँजीकरणमा सुधार भएको हो।
दशैंपछि बुधबार खुलेको शेयर बजारमा ४१ अंकको वृद्धि आएको थियो। बुधबार भने नेप्से परिसूचक १.७८ अंकले घटेको छ। यो बुधबार उच्च गतिले बढेको बजारमा सामान्य करेक्सन भएको मानिएको छ। यद्यपि, बिहीबार शेयर बजारमा रु. ३ अर्ब ३ करोडको कारोबार भएको छ।
अर्थतन्त्रमा शिथिलता आएपनि पछिल्लो समयमा शेयर बजारले चमक पाइरहेको छ। अन्य क्षेत्र लगानीका लागि आकर्षक नरहेपछि खल्तीमा रकम भएका लगानीकर्ताले शेयर बजारमा रकम खन्याइरहेको अनुमान गरिएको छ। त्यसमा ब्यांक तथा वित्तीय संस्थाको कर्जाको सस्तो ब्याजदरले सघाएको छ।