अघिल्लो वर्षको तुलनामा यो वर्ष चाडपर्वमा उपत्यकाबाट आवतजावत गर्नेको संख्या निकै कम
गत वर्षको तुलनामा यो वर्षको दशैंमा उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमि देखिएको छ। कोरोना संक्रमणको महामारीका कारण विगत वर्षहरुको दशैं तिहारको समयमा हुने यात्रुहरुको आवागमन भन्दा यो वर्ष कम देखिएको हो।
गत वर्ष दशैंअघि उपत्यकाबाट ११, १२ लाखको हाराहारीमा यात्रुहरू बाहिरिने गरेको भएपनि यो वर्ष न्यून संख्यामा यात्रुहरू उपत्यका बाहिरिएका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालका अनुसार यो वर्ष १ लाखले मात्रै उपत्यका छोडेका छन्। बन्दाबन्दी र त्यसअघिको अवधिमा अधिकांशले उपत्यका छोडेको र कोभिडका कारण धेरैले यात्रा नगरेकाले यो वर्ष दशैं तिहारका लागि उपत्यका छोड्नेको संख्या न्यून रहेको उनले बताए।
अहिले दैनिक करिब ५ हजार मान्छेहरू उपत्यका भित्रिरहेकाले बसपार्कलगायत बजार क्षेत्रमा विगत जस्तो भीड नभएको पनि उनले बताए।
ट्राफिक प्रहरीले अहिले सवारी साधानमा जोर विजोर कायम गर्ने, भौतिक दूरी कायम गराउने, भीडभाड नियन्त्रण गर्ने र बढी भाडा लिने सवारीलाई कारवाही गरिरहेको छ। दैनिक ८ वटा टोलीलाई यात्रुको भेषमा खटाएर सार्वजनिक सवारीहरूमा तोकिएभन्दा बढी भाडा लिए/नलिएको अनुगमन गरिरहेको उनले बताए। अहिलेसम्म बढी भाडा लिने २ सय १५ वटा सर्वाजनिक सवारीलाई कारवाही गरिएको पनि उनले बताए।
ट्राफिक व्यवस्थापन सँगै सर्वसाधारणलाई कोभिड सक्रमणबाट बचाउने काम पनि ट्राफिक प्रहरीले गरिरहेको छ। उपत्यकामा ६६ ठाउँमा नियमित रुपमा मादक पदार्थ सेवन (मापसे) चेकजाँच भइरहेकोमा अहिले उपत्यका बाहिरिने थप ९ वटा नाकामा समेत चेकजाँचमा कडाई गरिएको प्रमुख ढकालले बताए।
दशैं अवधिमा ३ हजार १ सय १५ सवारी चालकलाई कारवाही गरिएको बताउँदै प्रमुख एसएसपी ढकालले गत वर्षको दशैंको अवधिको तुलनामा यो वर्ष कम दुर्घटना भएको बताए। गत वर्ष दशैं अवधिमा ४ सय ३४ वटा दुर्घटना भएकोमा यो वर्ष ३ सय २० वटा दुर्घटना भएका छन्।
बन्दाबन्दीअघि यो वर्ष दुर्घटनामा परि १ सय ४ जनाले ज्यान गुमाएकालेमा बन्दाबन्दीपछि ६४ जनाको मृत्यु भएको छ। सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्यामा पनि ४० प्रतिशतले कमि आएको उनले बताए।