शिल्पी थिएटरले भौतिक उपस्थितिमा वृत्तचित्र प्रदर्शन र पुस्तक सार्वजनिक गर्ने
शिल्पी थिएटरले भौतिक उपस्थितिमा वृत्तचित्र प्रदर्शन र पुस्तक सार्वजनिक गर्ने भएको छ। गएको वर्ष देशका विभिन्न जिल्लामा नाटक यात्रा गर्दाको अनुभवलाई समेटेर तयार पारिएको वृत्तचित्र र पुस्तक आउने शनिबार शिल्पी थिएटर बत्तीसपुतलीमा कार्यक्रम गरी सार्वजनिक गरिने भएको हो।
शिल्पीले गतवर्ष असोज र कार्तिकमा सुर्खेत, जाजरकोट, दैलेख, रोल्पा लगायतका जिल्लाहरूमा पाँच हप्ते नाट्य यात्रा गरेको थियो। शिल्पीले दश जिल्लामा ४२ पटक नाटक ‘कल्पना र उर्मिला दुखमा छन्’ मन्चन गरेको थियो ।
त्यहि यात्रा र नाटक मन्चनको क्रममा समेटिएका स्थलगत अनुभव, नाटक हेरेपछि दर्शकको प्रतिकृया सहितको वृत्तचित्र तथा पुस्तक सार्वजनिक गरिने निर्देशक घिमिरे युवराजले बताए । २२ मिनेट लामो डकुमेन्ट्री र नेपाली तथा अंग्रेजी भाषामा तयार पारिएको पुस्तक सार्वजनिक हुने उनले जानकारी दिए । “संकटको बेला दर्शकलाई अलिकति खुशीको समाचार दिने प्रयास हो”, घिमिरे युवराज भन्छन्।
दुई सय सिट क्षमताको हलमा चालीस जना मात्रै दर्शकहरू राखिनेछ। कार्यक्रम र वृत्तचित्रको शिल्पी थिएटरको फेसबुक पेज र यूट्यूब च्यानलमा प्रत्यक्ष प्रसारण समेत गरिनेछ।