तीर्थ निरौलाको एकल भर्चुअल कला प्रदर्शनीमा महामारी बिम्ब
कोरोनाभाइरसका कारण सार्वजनिक स्थानमा चित्रकला प्रदर्शनी हुन सकिरहेको छैन। त्यसको विकल्पमा कलाकार तथा ग्यालरीहरुले भर्चुअल माध्यमबाट प्रदर्शनी थालेका छन्।
ललितपुरस्थित क्लासिक ग्यालरीले कलाकार तीर्थ निरौलाको एकल भर्चुअल चित्रकला प्रदर्शनी गरिरहेको छ। कलाकार निरौलाको ‘पृथक –आइसोलेट’ शिर्षक दिईएको प्रद्घर्शनीमा राखिएका चित्र गणेश, नारी, संस्कृति, धर्म र प्रकृतिमा केन्द्रित छन्।
उनले समसामयिक विषय अन्र्तगत ‘कोभिड–१९’ शीर्षकमा चित्र बनाएका छन्। धेरै चित्रमा चिच्याएको र चिरिएको मानव आकृति देखाएका छन्। आफूले विश्व मानव समुदायलाई प्रतिबिम्बित गरेको उनी बताउँछन्। “यी चित्रले दुःख, पीडा, निरासा र अवसादको विवसतालाई शान्ति, आशा र प्रगतीले चिर्दै जानुपर्छ भन्ने सन्देश बोकेको छन्”, उनी भन्छन्।
विगत तीन दशकदेखि नेपाली चित्रकलामा सकृय निरौलाका अर्धअमूर्त शैलीमा निर्मित २२ वटा चित्रकला प्रदर्शनीमा राखिएको छ। गणेशलाई ‘फ्युजन’ दिएको बताउने निरौलाले ‘तुलना’ शीर्षकमा गणेशको आकृतिसँग मानवको चिच्याएको टाउको बनाएका छन्। प्रदर्शनीमा बुद्ध, शान्ति, पौवा ईमेज जस्ता चित्र राखिएका छन्।
न्यूड चित्र शीर्षकमा नारीको वेदना र भावनालाई उजागर गरेको, प्रकृतिलाई नारीसँग तुलनात्मक रुपमा वर्णन गर्न खोजेको बताउँछन्। उनले आमा र बच्चाको प्रेमभावलाई ‘मदर एन्ड चायल्ड’ शीर्षकको चित्रमा उतारेका छन्।
अभिव्यञ्जनावाद, भाववाद र प्रयोगमुखी अवधारण आफ्ना चित्रमा रहेको उनको भनाइ छ। उनी भन्छिन्, “मेरा चित्रहरु प्रायः विषय र परिस्थिती प्रधान हुन्छन्। विशेषतः म कलाका विविध विषयलाई विषयवस्तुको रुपमा प्रयोग गर्छु।” आफ्नो चित्रकलामा गणेश, मानवीय भावना, उत्प्रेरणा, प्रकृति, जल, थल र आकाशका प्राणीहरु र तिनीहरुको प्राकृत मनोदशा तथा धर्म, संस्कृति र मान्यताहरु विषयका रुपमा समेटिएको दाबी गर्छन्।
चित्रकार निरौला मौलिक रुपमा कलाशैली प्रस्तुत गर्ने गरेको बताउँछन्। उनका चित्रकला अर्धअमूर्त शैलीका छन्। कलामा हल्का रंग र रेखाको पटाक्षेप छ। क्यान्भासमा रङ र रेखा संयमित (ब्यालेन्स) भएर बसेका छन्। टेक्सचर इफेक्ट (प्रभाव) प्रसस्तै भेटिन्छ।
अहिले कोरोनाको कहरका कारण समाजमा भीडभाड गर्ने अथवा भेला हुने अवस्था नभएको र ग्यालरी खोल्ने वातावरण नभएकाले भर्चुअल माध्यामबाट कलापा।खीको घरसम्म पुग्न भर्चुअल माध्यम अपनाएको चित्रकार तथा क्लासिक ग्यालरीकी प्रमुख सरिता डंगोल बताउँछिन्। अनलाइन प्रद्घर्शनीमा चित्रकला पारखीहरुको सहभागीता उत्साहजनक भएको उनको भनाइ छ। “चित्रकला धेरै जनाले हेरिरहनु भएको छ। तर, अनलाइनबाट किन्ने अथवा प्रतिकृया दिने संस्कार बस्न चाँहि समय लाग्छ।”
चित्रकार निरौला कुनै हलमा प्रद्र्घशन गर्दा निश्चित स्थानका कलाप्रेमीहरु माझ मात्रै पुग्ने आफ्नो चित्रकला अनलाइन माध्यामबाट प्रदर्शन हुँदा विश्वभरका कलाप्रेमी माझ पुगेको बताउँछन्। उनी भन्छन्, “अप्ठ्यारो समयमा रोजिएको यो विकल्प विश्वभरका कलाप्रेमी अथवा दर्शकसम्म पुग्ने उपयुक्त माध्यम बनेको छ।”
ग्यालरीको आधिकारीक युट्युब च्यानल, इन्स्टाग्राम, फेसबुक पेजबाट चित्रकलाहरु हेर्न सकिन्छ। २१ असोजदेखि शुरु प्रदर्शनी २१ कार्तिकसम्म हुने ग्यालरी प्रमुख डंगोलले बताइन्। युट्युवमा भने त्यसपछि हेर्न सकिनेछ।