चट्याङ लागेर एकको मृत्यु, १६ घाइते
चट्याङ लागेर अछाममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
गएराती घरमा बसिरहेको समयमा चट्याङ लागेर पञ्चदेवल विनायक नगरपालिका–७ का १४ वर्षीय जनक रावलको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।
मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर पञ्चदेवल विनायक नगरपालिका वडा नं ४, ७ र ८ मा धर्मेन्द्र रावल (३३), गोविन्द रावल (२७), धर्म रावल(४५), रमेश रावल (१२), रेतुका रावल (२२), विप्लव रावल (१), उज्जा रावल (५७), सृजना रावल(१९), धिर्जा रावल(२३), रघु रोक्का मगर (२०), कली रोक्का मगर (२२) र सपना रोक्का मगर (१९) घाइते भएका छन् । घाइते अन्य तीन जनाको नाम खुल्न नसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सोमबार साँझ एकाएक हावाहुरीसँगै आएको असिनाले डोटीलगायत अन्य पहाडी जिल्लामा ठूलो मात्रामा बालीनालीको नोक्सानी समेत गरेको छ ।