कर्मचारीमा कोरोना संक्रमण भएपछि सप्तरीको सप्तकोशी नगरपालिका कार्यालय एक साताका लागि बन्द
सप्तपरीको सप्तकोशी नगरपालिकाले बुधबारदेखि एक सातासम्मका लागि कार्यालय तथा मातहतका वडा कार्यालय बन्द गर्ने निर्णय गरेको छ। यस्तै, वडा नम्बर १० र ११ लाई पूर्ण रुपमा सिल गरेको छ।
मेयर उत्तमकुमार शर्माले बुधबार सूचना प्रकाशन गरी १८ कात्तिकसम्मका लागि नगरपालिकाका कार्यालय तथा मातहतका वडा कार्यालय बन्द गरिएको जानकारी गराएका हुन्।
सप्तकोशी –१० का ६८ वर्षीय वडाध्यक्ष र नगरपालिकामा कार्यरत ४४ वर्षीय स्वास्थ्यकर्मीसहित ३१ जना कोरोना संक्रमित भएपछि एक साताका लागि अत्यावश्यक काम बाहेक अन्य सेवा स्थगन गरिएको मेयर शर्माले बताए।
उनका अनुसार, नगरपालिका कार्यालयका केही कर्मचारीको स्वाब परीक्षणका लागि पठाइएको छ।