काठमाडौं उपत्यकामा ८४३ जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। बुधबार सबैभन्दा बढी बागमती प्रदेशमा एक हजार ६३ नयाँ संक्रमित भेटिएकोमा उपत्यकामा तीन जिल्लामा ४७५ पुरुष र ३६८ महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।
उपत्यकामा ८४३ जनासहित बुधबार देशभर एक हजार ९५४ जना संक्रमित भेटिएका छन्। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ८ हजार २४८ जनाको पीसीआर परीक्षण गरिएको थियो।
बुधबार थपिएका संक्रमितसँगै कुल संक्रमितको संख्या एक लाख ६२ हजार ३५४ पुगेको छ। जसमध्ये हालसम्म एक लाख २१ हजार ८२४ जना संक्रमणमुक्त भइसकेका छन्। बुधबार २ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्। यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ।
मन्त्रालयको तथ्यांक अनुसार, कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ छ। यीमध्ये ३१ हजार ९३४ जना संक्रमित घरमै आइसोलेसनमा बसिरहेका छन्। सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा १६ हजार २०१ जना छन्। यस्तै, ललितपुरमा २ हजार ३९८ र भक्तपुरमा एक हजार ७९ जना सक्रिय संक्रमित छन्।
उपत्यकाका तीन जिल्लामा रहेका १९ हजार ६७८ सक्रिय संक्रमितमध्ये १४ हजार ५८२ जना घरमै आइसोलेसनमा बसिरहेका छन्।