१९५४ जनामा कोरोना संक्रमण पुष्टि, थप ११ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर कोरोनाभाइरसका एक हजार ९५४ जना संक्रमित भेटिएका छन्। देशभरका प्रयोगशालामा ८ हजार २४८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १९६ पुरुष र ७५८ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बितेको २४ घण्टामा सबैभन्दा बढी बागमती प्रदेशमा एक हजार ६३ नयाँ संक्रमित भेटिएका छन्। यस्तै, प्रदेश १ मा ५७२, प्रदेश २ मा ८७, गण्डकी प्रदेशमा १९१, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा १३ जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
बुधबार थपिएका संक्रमितसँगै कुल संक्रमितको संख्या एक लाख ६२ हजार ३५४ पुगेको छ। जसमध्ये हालसम्म एक लाख २१ हजार ८२४ जना संक्रमणमुक्त भइसकेका छन्। बुधबार २ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ।
मन्त्रालयको तथ्यांक अनुसार, कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ छ। यीमध्ये ३१ हजार ९३४ जना संक्रमित घरमै आइसोलेसनमा बसिरहेका छन्।
संक्रमितमध्ये २९० जनाको सघन उपचार कक्ष (आईसीयू) र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।