दशैं बिदापछि खुलेको शेयर बजारमा ४१ अंकको छलाङ
दशैं बिदापछि खुलेको शेयर बजारले उच्च अंकको छलाङ मारेको छ। बुधबार शेयर बजार परिसूचक ४१ अंकले बढेर १ हजार ६४७ विन्दु पार गरेको छ।
दशैंपछि शेयर बजारमा कारोबार सुस्त हुने गरेको विगतका वर्षहरुको प्रवृत्तिभन्दा फरक यो वर्ष बजारमा लगानीकर्ताहरु उत्साहित देखिएका छन्। बुधबार कारोबार रकम पनि रु. २ अर्ब ७३ करोड पुगेको छ। यो बजार उत्साहजनक रुपमा चलायमान भएको संकेत हो।
बुधबार व्यापार समूह बाहेक अरु सबै समूहका उपसूचक बढेका छन्। सबैभन्दा धेरै वाणिज्य ब्यांक समूह ४.२७ प्रतिशतले बढेको छ। १३२ वटा कम्पनीका शेयर मूल्य बढेका छन्। जसमा सबैभन्दा बढी प्राइम ब्यांकका लगानीकर्ताले करीब १० प्रतिशत नाफा कमाएका छन्।
नेपाल फाइनान्स, सिटिजन्स ब्यांक जस्ता कम्पनीका लगानीकर्ताले पनि साढे नौ प्रतिशतभन्दा धेरै नाफा कमाएका छन्।
बजारले उच्च गतिको छलाङ मार्दा पनि कैयौं जलविद्युत् आयोजनाको शेयर मूल्य भने घटेको छ। पञ्चकन्या माई, रिडी, माउन्टेन जस्ता जलविद्युत् आयोजनाको शेयर मूल्य घटेको छ।
बुधबार सबैभन्दा धेरै ग्लोबल आईएमई ब्यांकको रु. २० करोड ६५ लाख मूल्य बराबरको शेयर कारोबार भएको छ। १६ प्रतिशत लाभांश घोषणा गरेपछि लगानीकर्ताहरु ग्लोबल आईएमई ब्यांकतर्फ आकर्षित भएका हुन्।
अनलाइन मार्फत किनबेच बढेका कारण शेयर बजारमा चमक आइरहेको अनुमान गरिएको छ।