दशैं मान्न आएका युवकमा कोरोना देखिएपछि बाग्लुङको काठेखोला गाउँपालिकाको नाका सिल
बाग्लुङको काठेखोला गाउँपालिका–३ स्थित पर्यटकीय गाउँ धम्जामा दशैं मनाउन भारतबाट आएका एक युवकमा कोरोनाभाइरस देखिएपछि गाउँपालिका प्रवेश गर्ने नाका पाँच दिनका लागि बन्द गरिएको छ।
दशैंको टीकाको केही दिन अघि कोरोना परीक्षणका लागि स्वाब दिएका ती युवकले रिपोर्ट नआउँदै वडा कार्यालयलाई कुनै जानकारी नदिई गाउँमा समूहमा टीका लगाएका थिए। गाउँभरिका वृद्धवृद्धा समेत जम्मा भएर उनी लगायत गाउँका सबै युवालाई टीका लगाइदिएका थिए।
स्वाब दिएपछि कुनै लक्षण नदेखिएकाले उनी साथीसँगीसँग गाउँघरका खेलकूद लगायत कार्यक्रममा पनि सहभागी थिए।
गाउँ नै संक्रमणको जोखिममा परेको निष्कर्षसहित नाका बन्द गरिएको धम्जाका वडाध्यक्ष यामबहादुर श्रीसले बताए। उनका अनुसार, कोभिड–१९ रोकथाम तथा नियन्त्रण प्रतिकार्य समन्वय समितिको आकस्मिक बैठकले गाउँमा पाँच जनाभन्दा बढी भेटघाट, भेला र आवतजावत गर्न नपाउने निर्णय गरेको छ।
यस्तै, ११ कात्तिक मंगलबार साँझ ७ बजेदेखि १५ कात्तिक राति १२ बजेसम्म अत्यावश्यक बाहेकका काममा गाउँपालिकाभित्र प्रवेश गर्न रोक लगाइएको छ।