हुम्लाको ताँजाकोट गाउँपालिका पाँच दिनका लागि सिल
कोरोनाभाइरसका संक्रमणका बीच आवतजावत बढ्ने भएपछि हुम्लाको ताँजाकोट गाउँपालिकाले सीमा नाकाहरू पाँच दिनका लागि सिल गरेको छ।
कोजाग्रत पूर्णिमामा गाउँपालिका बाहिरबाट आउनेको संख्या बढ्ने र त्यसले संक्रमणको जोखिम हुने भन्दै गाउँ कार्यपालिकाको ११ कात्तिकमा बसेको बैठकले सबै नाका बन्द गर्ने निर्णय गरेको हो।
गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बाजुरा जिल्लाको कवाडी नाका, मुगु जिल्लाको तीर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने सबै नाकाबाट पाँच दिनका लागी आवतजावत बन्द गरिएको बताए।
उनले भने, “वर्षभरिको सबैभन्दा ठूलो मेला लाग्ने कोजाग्रत पूर्णिमाको समयमा अन्य जिल्लाबाट गाउँपालिका आवतजावत गर्नेको संख्या बढेसँगै कोरोना संक्रमणको त्रास बढ्ने भएपछि नाका सिल गर्ने निर्णय गरिएको हो।”