वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना सङ्क्रमण
वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। मङ्गलबार उनको पीसीआर जाँच रिपोर्ट पोजिटिभ आएको हो।
प्रसाई झापाको मेचीनगरका स्थायी बासिन्दा हुन्। दशैँ मनाउन उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट गृहजिल्ला झापा गएका छन्। झापामै गरिएको जाँचमा उनलाई संक्रमण पुष्टि भएको हो।
विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएपछि पीसीआर जाँच गराएको उनले जानकारी दिएका छन्। तर, स्वास्थ्य अवस्था भने सामान्य रहेको उनले बताए।
उनी अहिले घरैमा ‘आइसोलेसन’मा छन्। उनका छोरा राजेशलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
यसअघि वागमतिका मुख्यमन्त्री डोरमणि पौडेललाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। उनीसहित एक जना अंगरक्षक, दुई जना चालक र एक जना कार्यालय सहयोगीलाई ६ कात्तिकमा कोरोना संक्रमण भएको थियो।
पौडेललाई ७ कात्तिकमा सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइ गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ। उनलाई सामान्य लक्षणहरु देखिए पनि केही समय अघि मुटुसम्बन्धी उपचार गरेका कारण चिकित्सकको निगरानीमा रहन काठमाडौं लगिएको उनका प्रेस संयोजक प्रकाश दाहालले जनाएका थिए।