च्याम्पियन्स लिगमा बराबरीमै रोकियो रियल मड्रिड
च्याम्पियन्स लिगअन्तर्गत गए राति भएका खेलमा लिभरपुल, म्यानचेस्टर सिटी, बायर्न म्युनिख जस्ता ठूला क्लब विजयी हुँदा ‘स्पेनी जायन्ट’ रियल मड्रिड बराबरीमा रोकिएको छ।
रियल मड्रिडले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाड्बाखसँग २–२ को बराबरी खेलको हो। मोन्चेनग्लाड्बाखको घरेलु मैदानमा भएको खेलमा चारै गोल हाफ टाइम पछाडि भएका थिए। शुरुआतका दुई गोल मोन्चेनग्लाड्बाखले गरेको थियो। उसले ५५औँ र ५८औँ मिनेटमा गोल गरेको हो।
रियलका लागि करिम बेन्जमा र कासिमिरोले गोल फर्काए। रियल पहिलो खेलमा साख्तर डानेत्स्कसँग ३–२ गोलले हारेको थियो। समूह ‘बि’ मा रहेको रियल दुई खेलको समाप्तीमा १ अंकसहित चौँथो स्थानमा छ। उसले अब इन्टर मिलानसँग खेल्नुपर्नेछ।
गए राति भएको अर्को खेलमा म्यानचेस्टर सिटीले मार्सेलाई ३–० गोलले पराजित गरेको छ। उसका लागि फेरान टोरेस, इकाए गुएन्डोगान र रहीम स्टर्लिङले गोल गरे। समूह ‘सी’ मा सिटी ६ अंकसहित शीर्ष स्थानमा छ।
त्यस्तै लिभरपुलले एफसी मिड्जिल्याण्डलाई २–० ले पराजित गरेको छ। लिभरपुलका लागि डिओगो जोटा र मोहम्मद सलाहले गोल गरे। सलाहले पेनाल्टीबाट गोल गरेका हुन्।
बायर्न म्युनिखले लोकोमोटिभ मस्कोलाई २–१ ले पराजित गरेको छ। त्यस्तै इन्टर मिलान र साख्तर डानेत्स्कले गोलरहित बराबरी खेले। अन्य खेलमा एट्लेटिको मड्रिड र एफ सी पोर्टो विजयी भएका छन्।