लगातार दुई हारपछि दिल्ली क्यापिटल्स अंकतालिकाको तेस्रो स्थानमा
इन्डियन प्रिमियर लिग (आईपीएल) मा शीर्षस्थानको दिल्ली क्यापिटल्स लगातार दुई खेलमा हारेपछि अंकतालिकाको तेस्रो स्थानमा झरेको छ। दिल्ली हिजो भएको खेलमा सनराइजर्स हैदराबादसँग ८८ रनको फराकिलो अन्तरले हारेको छ।
हैदराबादले दिएको २२० रनको लक्ष्य पछ्याएको दिल्ली मात्र १३१ रनमा अलआउट भयो। उसका लागि रिसभ पन्तले ३६ र अजिन्क्या रहानेले २६ रन बनाए। हैदराबादका रसिद खानले तीन विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ थालेको हैदराबादले धुवाँधार शुरुवात गरेको थियो। उसका लागि ओपनर डेभिड वार्नर र ऋद्धिमान शाहले पहिलो विकेटका लागि ९.४ ओभरमा १०७ रनको साझेदारी गरेका थिए। शाहले ८७ र वार्नरले ६६ रन बनाए। हैदारबादले २१९ रन बनाउन दुई विकेट मात्र खर्चियो।
दिल्लीका लागि कुनै पनि बलरले गतिलो प्रदर्शन गर्न सकेनन्। उसका लागि एनरिक नोत्र्जे र रविचन्द्र आश्विनले एक एक विकेट लिए। तर, दुवै जना महङ्गो सावित भए। नोत्र्जेले चार ओभरमा ३७ र आश्विनले तीन ओभरमा ३५ रन दिए।
दिल्ली अघिल्लो खेलमा पनि कोलकाता नाइट राइडर्ससँग ५९ रनले पराजित भएको थियो। लगातारको हारपछि समान १४ अंक भए पनि दिल्ली रनरेटको आधारमा तेस्रो स्थानमा झरेको छ।
पहिलो र दोस्रो स्थानका मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैङ्लोरले एक खेल कम खेलेका छन्। अब दिल्लीले बाँकी दुई खेल यी दुई टीमसँगै खेल्नुपर्नेछ।
नेपाली खेलाडी सन्दीपले यो सिजन लगातार १२ खेलसम्म दिल्लीबाट मौका पाएका छैनन्। बाँकी दुई खेलमा पनि उनले मौका पाउने संभावना निकै कम मात्र छ।