कोरोनाको औषधि फाभिरपिराभिरको नेपालमा क्लिनिकल ट्रायल शुरु
नेपाली औषधि कम्पनीले कोरोनाभाइरस संक्रमितको उपचारका लागि मुलुकमै पहिलो पटक उत्पादन गरेको फाभिरपिराभिर औषधिको तेस्रो चरणको क्लिनिकल ट्रायल शुरु भएको छ।
देउराली जनता फर्मास्यूटिकल्सले उत्पादन गरेको ‘फाभिर–२००’ को काठमाडौंको ग्रान्डी अस्पतालबाट क्लिनिलक ट्रायल शुरु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले फाभिरपिराभिरको तेस्रो चरणको क्लिनिकल ट्रायल शुरु गर्न प्रक्रिया अगाडि बढाएको थियो। परिषद् अन्तर्गत नै अहिले क्लिनिकल ट्रायल शुरु भएको हो।
परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले ग्रान्डी अस्पतालबाट क्लिनिकल ट्रायल शुरु भएको र बुधबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट पनि ट्रायल शुरु हुने जानकारी दिए।
ग्रान्डी अस्पतालले कम्तीमा ३०० बिरामीमाथि फाभिरपिराभिरको क्लिनिकल ट्रायल गर्ने योजना बनाएको छ। तर, बिरामीको अनुमतिमा मात्र उक्त ट्रायल गरिने अस्पतालले जनाएको छ।
ग्रान्डीका आईसीयू तथा संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीले हिमालखबरसँग कुरा गर्दै अस्पतालमा ‘फाभिर–२००’ को क्लिनिकल ट्रायल शुरु गर्न आवश्यक सबै अनुसन्धान प्रक्रिया पूरा भइसकेको र कोरोना संक्रमितले अनुमति दिए बुधबारदेखि नै औषधि चलाउन शुरु गरिने बताएका छन्।
डा. अधिकारीले भने, “ट्रायलमा सहभागी हुन चाहने कोरोना संक्रमितको सूची तयार गरेर अनुमति पाए हामीले भोलि (बुधबार) देखि नै औषधि चलाउने तयारी गरिसकेका छौं।" उनका अनुसार, यो ट्रायल दुईदेखि तीन महीनामा पूरा हुनेछ।
यो औषधिले कोरोना संक्रमित बिरामीमा प्रभावकारी काम गर्यो भने खुला रुपमा वितरण गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिने डा. अधिकारीले बताए।
नेपाली औषधि उत्पादक कम्पनी देउराली जनता फर्मास्यूटिकल्सले औषधि व्यवस्था विभागको अनुमतिमा विभिन्न मुलुकमा कोरोना संक्रमितको उपचारमा उपयोगी देखिएको फाभिरपिराभिरको करीब ६ महीना अघि नै उत्पादन गरिसकेको थियो।
उक्त औषधिको ग्रान्डी र शिक्षण अस्पताल बाहेक काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल र बाँसबारीस्थित गंगालाल अस्पतालबाट पनि क्लिनिकल ट्रायल हुँदैछ। परिषद्ले यी चार अस्पतालबाट क्लिनिकल ट्रायल शुरु गर्न यसअघि नै आवश्यक औषधि पठाइसकेको छ।
देउराली जनता फर्मास्यूटिकल्सले औषधि व्यवस्था विभागको अनुमतिमा विभिन्न मुलुकमा कोरोना संक्रमितको उपचारमा उपयोगी देखिएको फाभिरपिराभिरको करीब ६ महीना अघि नै उत्पादन गरिसकेको थियो।
यो औषधि कोरोनाको सामान्य लक्षण र लक्षण नै नदेखिएका कोरोना संक्रमितलाई उनीहरुको अनुमति र चिकित्सकको निगरानीमा क्लिनिकल ट्रायल गरिने परिषद्ले जनाएको छ।
फाभिरपिराभिर कोरोना संक्रमितलाई दिइने एन्टीभाइरल औषधि हो। विश्वका १५ वटा मुलुकमा कोरोना संक्रमित बिरामीलाई विभिन्न अनुसन्धान तथा ट्रायलका क्रममा यो औषधि प्रयोग भइरहेको छ। फाभिरपिराभिर सन् २०१४ देखि जापानबाट भाइरल इन्फ्लुएन्जाका बिरामीलाई प्रयोग गर्न शुरु भएको थियो।
एन्टीभाइरल यो औषधिले शरीरमा कोरोनाको भाइरल लोड घटाई भाइरसको वृद्धिविकास रोकेर छिटै निको हुन सहयोग गर्ने औषधि उत्पादक कम्पनीको दाबी छ। फाभिरपिराभिरले कोरोनाका सामान्य र मध्यम अवस्थाका बिरामी छिटो निको भएको विश्वव्यापी तथ्यांकले उत्पादक कम्पनी देउराली जनताका सीईओ हरिभक्त शर्माले बताए।
यो औषधि लक्षण देखिएका सामान्य र मध्यम स्वास्थ्य जोखिम अवस्थाका बिरामीलाई तत्काल चलाउन पाए सिकिस्त भएर अस्पताल भर्ना हुनु नपर्ने चिकित्सकहरु बताउँछन्।
देउराली जनताका अनुसार, यो औषधिको पूरा डोजलाई करीब रु. १२ हजार पर्छ। तर, अहिले क्लिनिकल ट्रायलका क्रममा सहभागी हुने कोरोना संक्रमितले औषधि निःशुल्क पाउने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. ज्ञवालीले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ११ कात्तिकसम्मको तथ्यांक अनुसार, मुलुकमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय भइसकेका छन्। जसमध्ये हालसम्म एक लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भइसकेका छन् भने संक्रमणबाट ८७६ जनाको मृत्यु भएको छ। अब देशभर कोरोनाका सक्रिय संक्रमित ४० हजार ६८१ जना छन्।