दशैंमा बढ्दैछ 'दम्पती टीका' को अभ्यास, श्रीमान्-श्रीमतीबीच नै एक-आपसमा टीका
मान्यजनको हातबाट टीका थाप्ने प्रचलन रहेको दशैंमा पारिवारिक रुपमा श्रीमान्ले श्रीमतीलाई टीका लगाउने परम्परा छ। तर, पछिल्ला वर्षहरुमा कतिपय दम्पतीले एक-अर्कालाई टीका लगाइदिने अभ्यास शुरु गर्दै जीवनसाथी बराबरी हुन् भन्ने सन्देश पनि दिइरहेका छन्।
बडादशैंमा मान्यजनको हातबाट सानाले टीका थाप्ने प्रचलन छ। पारिवारिक रुपमा श्रीमान्ले श्रीमतीलाई टीका लगाइदिने परम्परा रहिआएको छ। तर, केही वर्षयता भने श्रीमतीले पनि श्रीमान्लाई टीका लगाउने अभ्यास हुन थालेको छ।
अमेरिकाको क्यालिफोर्नियामा बस्ने चितवनकी शान्ता अधिकारीले ६ वर्षअघिदेखि श्रीमान्-श्रीमतीबीच दशैंको टीका लगाउन थालेको बताइन्। भारतीय मूलका अमेरिकीसँग विवाह गरेकी उनले त्यो क्रमलाई यस वर्षको दशैंमा पनि निरन्तरता दिइन्।
श्रीमान्-श्रीमतीमध्ये कोही ठूलो र सानो नभई एकै रथका दुई पाङ्ग्रा हुन् भन्ने बराबरीको भावनाले एक-अर्कालाई टीका लगाउन थालेको अधिकारी बताउँछिन्। समानताको सन्देश दिन एक-अर्कामा टीका लगाएको तस्वीर उनले सामाजिक सञ्जालमा पनि पोष्ट गर्ने गरेकी छिन्।
"श्रीमान्लाई टीका लगाइदिंदा शुरुका एक-दुई वर्ष कतिपयले श्रीमान्-श्रीमती कसरी बराबरी हुन्छ र भन्ने प्रश्न उठाए, अधिकांशबाट भने सकारात्मक प्रतिक्रिया नै पाएको छु", उनी भन्छिन्, "हाम्रा संस्कृति र संस्कारलाई जस्ताको त्यस्तै निरन्तरता दिने भन्दा पनि समानतामा आधारित बनाउँदै लैजानुपर्छ र त्यसको शुरुआत आफैंबाट गर्नुपर्छ।"
पछिल्ला वर्षहरुमा आफन्त र साथीभाइले पनि यस्तो अभ्यास गर्न थालेको उनी सुनाउँछिन्।
दशैंमा दम्पती टीकाको अभ्यास नयाँ पुस्ताले पनि शुरु गर्दैछन्। बेलायतमा रहेकी पत्रकार मीना शर्माले पनि श्रीमान्-श्रीमतीबीच एकअर्कालाई टीका लगाएको तस्वीर फेसबूक राख्दै लेखेकी छिन्, "श्रीमान्-श्रीमती एक रथका दुई पांग्रा भनेपछि को ठूलो को सानो भन्ने भएन। अधिकार, कर्तव्य र जिम्मेवारी मात्र होइन, यस्ता सांस्कृतिक चाडपर्वमा पनि दुवैको बराबरी सहभागिताले अपनत्व महसुस हुँदो रहेछ।"
नागरिक अगुवा देवेन्द्रराज पाण्डेले पनि यस वर्षको दशैंको टीका श्रीमतीको हातबाट लगाए। उनले आफूले श्रीमतीलाई र श्रीमतीले आफूलाई टीका लगाइदिएको तस्वीर ट्वीटरमा राख्दै यसलाई 'एकान्तको टीका' को संज्ञा दिएका छन्। उनले यस पटकको दशैंमा घरमा दम्पती मात्र भएकाले एक-आपसमा टीका लगाएको बताए।
हिमालखबरसँग छोटो कुरा गर्दै उनले भने, "त्यो फोटोको अरु धेरै अर्थ भन्दा पनि टीकाको दिन घरमा हामी मात्र थियौं, यसै गरी टीका लगायौं।"
यसपालीको दशैंमा साहित्यकार गीता रेग्मीले पनि पहिलो पटक श्रीमान् दीपक अर्याललाई टीका लगाइदिइन्। विगतका दशैंमा परिवारका सबै जना भेटेर टीका लगाउने गरे पनि यस वर्ष कोरोना संक्रमण महामारीका कारण भेटघाट हुन नसकेर श्रीमान्को निधार खाली हुने भएपछि आफूले टीका लगाइदिएको उनले बताइन्।
"यस पटक पारिवारिक भेटघाट नभएपछि उहाँ (श्रीमान्) ले कसबाट टीका लगाउने भन्ने कुरा भयो, अन्तत: पारिवार सल्लाह अनुसार हामीले एकअर्कालाई टीका लगायौं", रेग्मीले भनिन्। आगामी वर्षहरुमा पनि यो अभ्यास निरन्तर रहने उनले बताइन्।
अष्ट्रेलियामा रहेका ७२ वर्षीया आमा (चन्द्रकला रेग्मी) ले पनि ७८ वर्षीय बुवा (तीर्थराज रेग्मी) लाई टीका लगाइदिएको र उहाँहरुसँग भर्चुअल छलफल हुँदा सकारात्मक जवाफ पाएपछि श्रीमान्लाई दशैंको टीका लगाउने वातावरण बनेको रेग्मीको भनाइ छ।
उनी भन्छिन्, “कति पुरुष बुबाआमा वा दाजुहरु नभए दशैंमा खाली निधार बस्छन्, त्यसै पनि दशैं देवी (स्त्री) को पूजा गर्ने चाड भएकाले श्रीमतीको हातबाट टीका लगाउनु अन्यथा हुँदैन।"
अधिकारकर्मी राधा पौडेल सांस्कृतिक रुपमा यस्ता परिवर्तन आवश्यक भएको बताउँछिन्। "हाम्रा धेरै चाडपर्वमा समानता ल्याउनुपर्नेछ, सबैले आ आफ्नो घरबाट शुरु गर्नुपर्छ", उनी भन्छिन्।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा कार्यरत इञ्जिनियर कमल अर्यालले पनि विवाह गरेको २५ वर्षमा पहिलो पटक यसपाली श्रीमतीको हातबाट दशैंको टीका लगाएका छन्।
अर्यालले कोरोना संक्रमणबाट सुरक्षाका लागि आफू रहेकै स्थानमा दशैं मनाउनुपर्ने र देवीको पूजा गर्ने चाडको हिसाबले आफ्नै प्रस्तावमा श्रीमतीले टीका लगाइदिएको बताए। "महिला सृष्टिकर्ता हो, आफैंले सोच्दा पनि श्रीमतीलाई सम्मान गरिएन कि भन्ने महसुस भएर पनि मैले श्रीमतीको हातबाट टीका ग्रहण गरें र आफूले पनि लगाइदिएँ", उनले भने।