काठमाडौं उपत्यकामा थपिए २५२ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २५२ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, मंगलबार उपत्यकामा १५५ पुरुष र ९७ जना महिलामा संक्रमण पुष्टि भएको हो। मंगलबार उपत्यकामा २५२ सहित देशभर ५७० जना संक्रमित भेटिएका छन्। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा २ हजार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ।
मन्त्रालयको तथ्यांक अनुसार, कोरोनाका सक्रिय संक्रमितको संख्या ४० हजार ६८१ छ। जसमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा १६ हजार ९५८ जना सक्रिय संक्रमित छन्। यस्तै, ललितपुरमा २ हजार ४३४ र भक्तपुरमा १ हजार १९४ जना गरी उपत्यकाभित्र सक्रिय संक्रमित २० हजार ५८६ जना छन्। जसमध्ये उपत्यकामा १४ हजार ५८२ जना संक्रमित घरमै आइसोलेसनमा बसिरहेका छन्।
सक्रिय संक्रमितमध्ये देशभर होम आइसोलेसनमा बस्नेको संख्या भने ३२ हजार ४६४ छ।
सोमबार थपिएका संक्रमितसँगै कुल संक्रमितको संख्या एक लाख ६० हजार ४०० पुगेको छ। जसमध्ये हालसम्म एक लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भइसकेका छन्। मंगलबार ३ हजार १६८ जना संक्रमणमुक्त भएका छन्।
मंगलबार १४ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ।