थप ५७० जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर कोरोनाभाइरसका ५७० जना संक्रमित भेटिएका छन्। देशका विभिन्न प्रयोगशालामा २ हजार ७२५ जनाको पीसीआर परीक्षण गर्दा ३५९ पुरुष र २११ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा मात्रै मंगलबार २५२ जनामा संक्रमण पुष्टि भएको छ।
मंगलबार थपिएका संक्रमितसँगै कुल संक्रमितको संख्या एक लाख ६० हजार ४०० पुगेको छ। जसमध्ये हालसम्म एक लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भइसकेका छन्। मंगलबार ३ हजार १६८ जना संक्रमणमुक्त भएका छन्।
मंगलबार १४ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ।
मन्त्रालयको तथ्यांक अनुसार, कोरोनाका सक्रिय संक्रमितको संख्या ४० हजार ६८१ छ। जसमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा १६ हजार ९५८ जना सक्रिय संक्रमित छन्।
सक्रिय संक्रमितमध्ये होम आइसोलेसनमा बस्नेको संख्या ३२ हजार ४६४ छ। मन्त्रालयको मंगलबार दिउँसो २ बजेसम्मको तथ्यांक अनुसार, २८१ जना संक्रमितको आईसीयू र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।