क्लिन फिड लागू भएपछि सशुल्क ९२ मध्ये १९ च्यानल मात्र विज्ञापनरहित, तिहारसम्ममा आउनेछन् यी च्यानल
सरकारले विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड (विज्ञापनरहित) नीति लागू गरेपछि नेपालमा प्रसारण हुने सशुल्क ९२ वटा च्यानलमध्ये १९ वटा विज्ञापनरहित भएका छन् भने केही च्यानल तिहारसम्ममा प्रसारण हुने भएका छन्।
८ कात्तिकदेखि लागू गरिएको क्लिन फिड (विज्ञापनरहित) नीतिको प्रभावका कारण नेपालमा प्रसारण भइरहेका सशुल्क ९२ वटा विदेशी टीभी च्यानलमध्ये चार दिनमा १९ वटा मात्रै विज्ञापनरहित भएर आउन थालेका छन्। क्लिन फिड भएर आएका यी च्यानलमा जी टीभी कम्पनीका १२ वटा, कलर्सको चार वटा र स्टारका तीन च्यानल छन्।
बीबीसी, सोनी सहितका च्यानलले तयारी गरिरहेको र यी च्यानल तिहारसम्ममा विज्ञापनरहित भएर आउने प्रतिबद्धता जनाएको सुविसु केवल नेटवर्कका अध्यक्ष सुधीर पराजुलीले बताए। उनका अनुसार, स्टारका ३२ र सोनीका १९ वटा च्यानलले तिहारसम्ममा क्लिन फिड प्रसारण गर्ने जानकारी दिएका हुन्।
सोनीको स्पोर्ट्स च्यानल भने तत्काल प्रसारणमा नआउने भएका छन्। यसका च्यानलले प्रयोग गरेको प्रविधिले काम नगरेकाले विज्ञापनरहित हुन नसकेर अहिले बन्द भएको र यसलाई सुधार गरेर प्रसारण गरिने बताइएको छ।
क्लिन फिड दिन नसक्ने भएकाले चार वटा च्यानल भने बन्द नै गर्ने औपचारिक रूपमा जानकारी दिइससकेको डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए। उनका अनुसार, नेपालमा आउन नसक्ने भनेर जानकारी दिएका च्यानलमा सीएनएन इन्टरनेशनल, कार्टुन नेटवर्क, पोगो कार्टुन, वार्नर ब्रदर्स र भारतीय निःशुल्क च्यानल छन् । भारतीय आस्था, संस्कार, आजतकसहितका च्यानल क्लिन फिडमा जान नसक्ने भएर बन्द भएका छन्।
स्टार, सोनी, कसर्ल, बीबीसीसहितले कोशिस गर्छौं भने पनि उनीहरुको प्रयास सफल हुन्छ कि हुँदैन र कति वटा च्यालन क्लिन फिडमा आउँछन भन्ने विषयमा च्यालन वितरकहरुलाई अहिलेसम्म कुनै औपचारिक जानकारी नआएको व्यवसायीको बताउँछन्।
सरकारले क्लिन फिड नीति लागू गरेपछि विज्ञापनरहित प्रसारण गर्न सक्ने च्यानलले त्यसका लागि तयारी गरिरहे पनि निःशुल्क आउने र क्लिनफिडको तयारी नगरेका धेरै च्यानल अब नेपालमा प्रसारण हुने छैनन्।
टेलिभिजन बजारमा असर पर्ने चिन्ता
अधिकांश च्यानललाई प्याकेज बनाएर ग्राहकको घरघरमा पुर्याएका कारण बढेको टेलिभिजन बजार अब कम च्यानल हुने र ग्राहकले खोजेको च्यानल नआउने भएपछि यो क्षेत्रलाई नकारात्मक असर पर्न सक्ने डिसहोमका प्रबन्ध निर्देशक आचार्यको बुझाइ छ।
"क्लिन फिड भएपछि च्यानलको पैसा बढ्न सक्ने हुन्छ र ग्राहकले धेरै शुल्क तिर्नुपर्ने हुन्छ", आचार्य भन्छन्, "हेर्न चाहेको च्यानल पनि नपाउने भएपछि ग्राहक बिच्किन सक्ने जोखिम देखिएको छ।"
टेलिभिजन प्रसारक व्यवसायीहरुका अनुसार, क्लिन फिड लागू भएपछि स्टार, सोनी, कलर्स, बीबीसी लगायत च्यानलले विज्ञापनरहित प्रसारणका लागि प्रयास गर्ने बताएका छन्। तर, उनीहरुको प्रयास सफल हुने वा नहुने अनिश्चितता रहँदा कति वटा च्यानल क्लिन फिडमा आउँछन् भन्नेबारे च्यानल वितरकहरुलाई अहिलेसम्म औपचारिक जानकारी नआएको व्यवसायीहरुको भनाइ छ।
डिसहोमका प्रबन्ध निर्देशक आचार्य भने क्लिन फिड दिन्छु भनेको च्यानलले मागेको समय र तयारी गरिरहेकालाई भने पर्खनुपर्ने बताउँछन्। क्लिन फिड भए पनि टेलिभिजन हेर्ने शुल्क बढ्ने र सो को व्यवस्थापन मिलाउनुपर्ने बताउँदै उनी भन्छन्, "डिसहोमले मध्यम प्याकेज लिनेलाई समेत आफ्ना सबै च्यानलको सुविधा दिने वा अन्य कुनै तरिकाबाट ग्राहकलाई सम्बोधन गर्न सक्ने तयारी भइरहेको छ।"