दुरा– जसले शाहलाई राजा बनाए
पृथ्वीनारायण शाहका पुर्खा यशोब्रह्म शाह (कुलमण्डन शाहका छोरा, द्रव्य शाहका बुबा) लाई लमजुङको राजा बनाउने दुरा जाति स्वयं भने अहिले लोपोन्मुख बनेको छ ।
प्रतिशोध र इख भएको व्यक्तिले आफूसँग वैरभाव साध्नेलाई कि सिध्याउँछ कि ऊभन्दा अब्बल बनेर देखाउने आकांक्षा पाल्छ । यस्तै तात्तातो प्रतिशोधी भाव र इख तत्कालीन गोरखाली युवराज पृथ्वीनारायण शाहमा थियो।
विवाह छिनिसकिएकी सेन राजकुमारीलाई डोला लिन मकवानपुर गएका पृथ्वीनारायण शाह रित्तोहात फर्कनुपरेको थियो । उनी चन्द्रागिरिको बाटो हुँदै फर्केका थिए । त्यहाँबाट काठमाडौं उपत्यकाका तीन राज्यलाई हेरेपछि उनले मुख मिठ्याए । उनीसँग रहेका ज्योतिषीहरूले मनसुवा बुझे । र, उनको मनोकांक्षा पूरा हुने बताएर नेपालको पनि राजा हुन थप महत्वाकांक्षी बनाइदिए।
त्यसैबेला पृथ्वीनारायण शाहका मामा पाल्पाली राजा गन्धर्व सेनका छोरा उद्योग सेन गोसाइँकुण्ड, पशुपतिनाथको दर्शन गर्न देवघाटको बाटो हुँदै जाने क्रममा गोरखकालीको पनि दर्शन गर्न भनी गोरखा पुगेका थिए । उनले मामासमक्ष नेपालको राजा हुने चाहना सुनाए।
उद्योग सेनले उनीसँग गोरखाको सैन्यशक्तिबारे जानकारी लिए। त्यसपछि उद्योगले पृथ्वीनारायण शाहलाई एउटा कूटनीतिक उपाय सुझाउँदै ‘लमजुन् भन्याको गरुड हो, गोर्षा भन्याको सरप हो. नेपाल भन्याको भ्यागुतो हो. अघी गरुडको आषा छलनु. अव सर्पले भ्यागुतो षान पाउ छ’ भनेको इतिहास शिरोमणि बाबुराम आचार्य र योगी नरहरिनाथले सम्पादन गरेको ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश’ (२०६१ः३६–३७)मा पढ्न पाइन्छ।
यसैअनुसार पृथ्वीनारायण शाहले पनि ‘उनै अर्ति लिँया र लमजुंग्या राजा रिपुमदन साहसित भेट गर्न गया...घाहा बांधुला भंने जढ कुरो मेरो पेटमा थियो सोहि जढ कुरो कालु पांडेले गर्यो घाहा वलियो बस्यो’ भन्ने धारणा आफ्नो उपदेशमा उल्लेख गरेका छन् । नेपाल लिनुछ भने पहिले लमजुङसँग सन्धि सम्बन्ध बलियो बनाई थामिराख्न दिएको उद्योग सेनकै सुझाव अनुसार पृथ्वीनारायण शाहले लमजुङसँग सन्धि गरेका थिए।
गोरखा–लमजुङ सन्धि
त्यो बेला गोरखाली राजा नरभूपाल शाह गद्दीमै थिए । तर जीवनको उत्तराद्र्धमा उनले राजकाजमा ध्यान दिन छाडिसकेका थिए।
इतिहास शिरोमणि आचार्यको ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ः९७) अनुसार तिनताक नरभूपालमा मानसिक चिन्ता बढेको थियो। उनी प्रायः एक नोकर केटोका साथ जङ्गलमा बस्थे।
यस्तो बेला पृथ्वीनारायण शाह भने क्रमशः राजकाजमा हात हाल्दै गइरहेका थिए । उनले पत्र आदानप्रदान गरी लमजुङलाई सन्धिका लागि तयार बनाए । लमजुङका राजा रिपुमर्दन सन्धि–शाह सभामा उपस्थित हुन दुई राज्यबीचको सिमाना चेपेघाटमा उपस्थित थिए । पृथ्वीनारायण शाह राजा नरभूपालको छाप बोकी चनाखा मानिसका साथ त्यहाँ उपस्थित थिए । गोरखाली दलको नेतृत्व भारदार कालु पाँडेले गरेका थिए।
सन्धिअनुसार, लमजुङको कास्कीसँग झगडा भएको बेला कास्कीले गोरखासँग मिली आफ्ना शक्ति नपठाउने र गोरखाले पनि नुवाकोट जित्ने अभिलाषा राखेकोले एकले अर्काको मद्दत गर्ने, लमजुङले चलाएको काजमा गोरखाले र गोरखाले चलाएको काजमा लमजुङले सरदारसमेतको मानिस पठाई मद्दत गर्ने सन्धि भएको गंगा कर्माचार्य (हाडा) ले ‘सिनास जर्नल’ वर्ष ३१ अङ्क २ (सन् २००४ जुलाई: १४२)मा ‘काजी कालु पाँडे र कीर्तिपुरको युद्ध’ शीर्षकको लेखमा उल्लेख गरेकी छन्।
लमजुङमा शाह वंशलाई राजाका रूपमा स्थापित गर्नेमा खाजे दुरा मुख्य थिए । अहिले पनि दुराहरू खाजे दुरालाई आफ्नो जातिको अगुवा ठान्छन्।
गोरखाले पूर्व सिन्धुसम्म जितोस् भन्ने चाहना व्यक्त गरिएको यो सन्धिसँगै कालु पाँडेले आफ्ना छोरा वंशराज पाँडेको लमजुङका युवराज वीरमर्दन शाहसँग मित्यारी पनि लगाइदिएका थियो। ‘एकानि शत्रु एकानि मित्र’ को नामले चिनिने यो सन्धि १७९४ माघ ११ गते बिहीबार भएको ‘पूर्णिमा’ को पूर्णाङ्क ४ (२०२१ माघः६१)मा उल्लेख छ।
यो सन्धिताका कालु पाँडेले आफ्नो बुद्धिमत्ता गतिलो ढङ्गले गोरखाली युवराजसमक्ष प्रस्तुत गर्ने अवसर पाएका थिए । जनमत पनि कालुकै पक्षमा रहेको पाएपछि पृथ्वीनारायणले उनैलाई गोरखाको काजी बनाए।
गोरखा–लमजुङ युद्ध
एकापसमा सन्धि भएको २९ वर्षपछि लमजुङ एकाएक गोरखा विरुद्ध युद्धमा उत्रियो । गोरखालीले कीर्तिपुर विजय गरेपछि लमजुङका राजा वीरमर्दन शाहले आफ्नो सैन्य गोरखातर्फ पठाइदिए।
आचार्य (उही २०६१ः३०७–३०८)अनुसार लमजुङे सैन्य गोरखातिर बढेको सुन्नेबित्तिकै पृथ्वीनारायण शाहले कीर्तिपुरबाट वंशराज पाँडे र श्रीहर्ष पन्थलाई बोलाएर गोरखाली सैन्यदल लमजुङ आक्रमण गर्न पठाए । लमजुङेहरू लाखाजुङमा अडिए भने गोरखाली सैन्य दल चिहानडाँडामा ठाना बारी बसे ।
वंशराजले १८२३ असोज १३ गते लमजुङे सैन्य शिविरमा आक्रमण गरिदिंदा कतिपय भागे भने सेनानायक पारथ भण्डारी लगायत २४० जना सैन्यले आत्मसमर्पण गरे । त्यसपछि पारथ भण्डारीले गोरखाली सैन्य दलमा प्रवेश गरी विभिन्न युद्धहरूमा भाग लिएको इतिहास पाइन्छ।
गोरखालीहरूले वरपरका राज्यहरूलाई धमाधम आक्रमण गर्दै आफ्नो अधिपत्यमा ल्याउन थालेपछि गोरखालीसँग लमजुङ झस्कनु स्वाभाविक थियो । त्यसपछि लमजुङ अन्य राज्यसँग मिली गोरखाली विरुद्धको युद्ध मोर्चामा सहभागी भएको पाइन्छ।
यसैक्रममा लमजुङले त्यसबेलाको शक्तिशाली राज्य पर्वतसँग मिलेर गोरखाको झिमरेकमा दखल जमायो । पर्वते राजा कीर्तिबम मल्ल पनि स्याङ्जासम्म आई त्यसतर्फ चौबिसी राज्यका सेना पठाउँदै रहे । गोरखालीका तर्फबाट बलभद्र शाह आफ्नो सैन्य दलसाथ सिरानचोकमा तैनाथ थिए।
यसैबीच लमजुङेहरूले सिरानचोक आक्रमण गरिदिए । गोरखालीहरूले पनि कडा मुकाविला गरिदिंदा लमजुङेहरूको भागदौड मच्चियो । गोरखालीहरूले झिमरेक १८३८ माघ २५ गते फिर्ता लिएको ‘पूर्णिमा’ को पूर्णाङ्क ५१ (२०३८ चैतः९–१०)मा पढ्न पाइन्छ।
पृथ्वीनारायण शाहका मामा उद्योग सेनले दिएको अर्तिअनुसार सर्परूपी गोरखाले गरुडरूपी लमजुङमाथि अनेक कुटिलता र बल प्रयोग गरी आफ्नो अधीनस्थ बनाएरै छाड्यो ।
‘पूर्णिमा’ (उही) अनुसार रणबहादुर शाहको नायवी सम्हालेर बसेकी राजेन्द्रलक्ष्मीले लमजुङलाई पूर्ण रूपमा हात पार्न कुटिल चाल चालेर कास्कीका राजा सिद्धिनारायण शाहलाई गोरखाले कब्जा गरेको रियासत फिर्ता गरिदिइन्।
कास्केली राजालाई चूप लगाउने बित्तिकै अमरसिंह थापाले लमजुङ घेरिहाले । दलमर्दन शाह, वंशराज पाँडे, जीव शाहलगायतले मस्र्याङ्दीतिरबाट लमजुङको राजधानी तार्कुघाटमा आक्रमण गरी वि.सं. १८३९ साउनको अन्त्यतिर लमजुङलाई गोरखामा गाभे । त्यसबेलाका लमजुङे योद्धा भक्ति थापा युद्धबन्दी रहे । पछि उनी नेपालका नामी योद्धाका रूपमा स्थापित भए।
यसरी पृथ्वीनारायण शाहका मामा उद्योग सेनले दिएको अर्तिअनुसार सर्परूपी गोरखाले गरुडरूपी लमजुङमाथि अनेक कुटिलता र बल प्रयोग गरी आफ्नो अधीनस्थ बनाएरै छाड्यो।
लमजुङ राज्यका संस्थापक
शाह राजाहरूको पुर्खा भन्नुपरे धेरैले कुलमण्डन शाहको नाम लिन्छन् । तर इतिहास शिरोमणि आचार्यले भने कुलमण्डन शाहको नाम विचित्र खान भनी आफ्ना पुस्तकहरूमा उल्लेख गरेका छन्।
आचार्य (उही २०६१ः६)अनुसार विचित्र खानका जेठा छोरा कास्केली राजा नरराज खानले ‘खान’ उपाधि छाडी ‘साहि’ उपाधि लिए । उनका भाइ लमजुङका ठाकुर यशोब्रह्मले पनि सोही उपाधि लिएका कारण उनी पनि ‘साहि’ कहलाए।
लमजुङ राज्यको स्थापनाको इतिहास कोट्याउँदा कास्केली राजा कुलमण्डन शाहले आफ्ना माहिला छोरा कालु शाहलाई राजा बन्न लमजुङ पठाएका थिए । तर कालु शाहलाई हिउँ निथ्रिने शेष लेकमा बस्नेले छक्याएर मारिदिए । उनी मारिएको ठाउँलाई ‘सिमसिम ढुङ्गा’ पनि भनिन्छ । कालुका साथ गएका नारायण दुरालाई पनि शेष लेकमै बस्ने शेषान्त (गुरुङ)ले मारिदिएको डा. राजाराम सुवेदीले ‘प्राचीन नेपाल’ को सङ्ख्या १५० (२०५९ असारः४९–५०) मा उल्लेख गरेका छन्।
कालु शाहसँगै मारिएका नारायण दुराका छोरा लक्ष्मण दुराले लमजुङमा राज गरिरहेका घलेहरूको हुकुम मेटेर शाही हुकुम कायम गर्ने प्रतिज्ञा गरे । यसका लागि दुराडाँडाका खाजे दुरा, लक्ष्मण दुरा, चिसंखुका कुश्माकर घिमिरे, चामु चिङ्घल क्यान्साको गोल (बच्चा झोला) बनाई ठकुरी राजा माग्न कास्कीकोट पुगेको सुवेदी (उही)ले उल्लेख गरेका छन् । तर सुवेदीको ‘लमजुङ राज्य’ शीर्षकको यो लेखमा राजा माग्न जानेमध्ये एक लक्ष्मण दुराको ठाउँमा भूलवश उनका बाबु नारायण दुराको नाम उल्लेख हुन पुगेको छ।
तर पुत्रवियोगले विह्वल राजा कुलमण्डन शाह लमजुङेहरूसँग आक्रोशित भए । किनकि कालु शाहलाई लमजुङमा राजा थाप्ने पनि दुराडाँडाका पञ्चहरू नै थिए । कुलमण्डनले फेरि राजा थाप्नका लागि छोरा माग्न आएकाहरूलाई ‘फेरि मृगको शिकार गर्ने वहाना गरी अर्का छोरालाई मार्न लैजान आयौ’ भनी हप्काए । दुराडाँडाका पञ्चहरूले यो काम आफूहरूले नगरेको र अघि भएको सबै काम शेषाली (गुरुङ)हरूले गरेका भनी बिन्ती बिसाए । शेष क्षेत्रमा बस्ने गुरुङलाई कतै शेषाली कतै शेषान्त लेखिएको पाइन्छ।
कुलमण्डनले जेठा छोरालाई लमजुङ पठाउन चाहेनन् । ‘प्राचीन नेपाल’ को सङ्ख्या २० (२०२९ साउनः२–३) अनुसार कुलमण्डनले खाजे दुराहरूलाई बाँकी रहेका आफ्ना पाँच छोरालाई एकै बिछ्यौनामा सुताइदिने र जुन चाहिंलाई रुचि लाग्छ उसैलाई खुशीसाथ छानेर लैजान भने । भोलि बिहान हेर्दा खाजे दुराहरूले कान्छा छोरा यशोब्रह्मको सिरानी अरूको भन्दा माथि सरेको देखी सिरानी सर्ने मानिस भाग्यमानी हुन्छ भन्ने सम्झी उनलाई थैलोमा लिएर राजा थाप्न लमजुङतिर हिंडे।
कालु शाहकी विधवा रानीलाई राम्चे र मिदुम खोलाको दोभानमा सुरक्षा दिई पालेका दुराहरूले यशोब्रह्म शाहलाई लमजुङको ठूलो स्वाँरामा लगी ढुङ्गामा राखी अविरजात्रा गरे । यसरी राजा यशोब्रह्म शाह लमजुङको गद्दीमा वि.सं. १५५० असार १५ गते बसेको सुवेदी (उही)ले उल्लेख गरेका छन् । उनले गुरुङहरूलाई पनि मिलाएर लैजान सिक्लेसका ल्होचन गुरुङसँग मित्यारी लगाए भने घलेहरूलाई भने दबाए । ल्होचन र दुराहरूलाई खेतीपाती, पशुपालन र व्यापारमा केही सहुलियत थिए।
यसरी लमजुङ करीब तीन सय वर्षसम्म स्वतन्त्र राज्यका रूपमा रह्यो।
खाजे दुरा र ‘लोपोन्मुख’ वर्तमान
लमजुङमा शाह वंशलाई राजाका रूपमा स्थापित गर्नेमा खाजे दुरा मुख्य थिए । अहिले पनि दुराहरू खाजे दुरालाई आफ्नो जातिको अगुवा ठान्छन्।
दुराहरूले २०३७ सालमा खाजेको सालिक च्यानपाटामा उभ्याए । २०५७ मा सालिक फुटेपछि पुनः नयाँ सालिक बनाई सोही ठाउँमा प्रतिष्ठापित गरिएको छ । चन्द्रपाटा पनि भनिने यो ठाउँ अहिले लमजुङ नगरपालिका–३ मा पर्दछ।
लमजुङमा राजा थाप्ने दुराहरू नै लमजुङ राज्यका संस्थापक हुन् । तर, अहिले यिनै दुरा नेपालकै लोपोन्मुख जातिका रूपमा छन्।
नेपालका सूचीकृत ९८ अल्पसङ्ख्यकमध्ये दुरा जाति पनि एक हो । राष्ट्रिय जनगणना २०६८ अनुसार उनीहरूको जनसङ्ख्या पाँच हजार ३९४ रहेको छ।
चन्द्रपाटा भनिने लमजुङ नगरपालिका–३ मा रहेको खाजे दुराको सालिक ।
लमजुङमा राजा थाप्ने दुराहरू नै लमजुङ राज्यका संस्थापक हुन् । तर, अहिले यिनै दुरा नेपालकै लोपोन्मुख जातिका रूपमा छन् ।
दुराडाँडा उनीहरूको मूल भूमि हो । खजेगाउँ, तुर्लुङकोट, भाँगु, मकैस्वाँरा, कानेश्वर, बासपानी, नेटा कुन्छा, तान्द्राङमा पनि दुराको बसोबास भेटिन्छ । वर्धान, हाँडीखोला, वास्के, लाङ्दी, पतरी, सिठानी, सम्ले, सानोस्वाँरा, भदौरे, रामबजार, भोर्लेटार र सुन्दरबजारमा पनि दुराका केही घरहरू छन् ।
लमजुङमा राजा थापेर त्यो राज्यलाई तीन सय वर्षसम्म टिकाएका यी ‘किङ मेकर’ हरूले राजाबाट काजी, सरदार वा उच्च पद केही पाएको भने इतिहास पढ्न पाइएको छैन । बरु गोरखालीसँगको युद्धको समयमा लुटमा परेको आफ्नो धनसम्पति पनि उनीहरूले फिर्ता पाएनन् ।
इतिहासकार ज्ञानमणि नेपालले ‘नेपालको महाभारत’ (२०५२ः८९) मा यस सम्बन्धी वि.सं. १८५७ ज्येष्ठ वदी ४ सोमबारको एउटा लालमोहर प्रकाशित गरेका छन् । यसअनुसार चेपे मस्र्याङ्दी पश्चिम भेरी पूर्वका ब्राह्मण, जोगी संन्यासी, भाट, रजपुत, खस, मगर, गुरुङ, लामा र दुरा बाहेक युद्धको बेला लुटमा परेको नगद, जग्गा जमीन फिर्ता गरिदिनु भन्ने परेको छ । लालमोहर अनुसार नेवार, माझी, कुमाल, दरै, दनुवार, रोहानी लगायतका जातिले भने नगद र जग्गा जमीन फुकुवा पाएका थिए ।
पछि लमजुङबाटै फुटेर यशोब्रह्म शाहका कान्छा छोरा द्रव्य शाहले गोरखा राज्य स्थापना गरे । उनकै दरसन्तानले नेपालमा लामो समय शासन चलाए ।