तस्वीरमा महामारीको अभिलेख
जब कोभिड–१९ महामारीको प्रभाव देखिन थाल्यो, हाम्रो दैनिक जनजीवन अस्तव्यस्त हुन पुग्यो। देशहरूले आफ्नो सीमा बन्द गरे, विमान कम्पनीहरूले उडान रद्द गरे र सूचना एकदमै मूल्यवान् हुन थाल्यो।
जाडो सकिएर वसन्त ऋतुको आगमनसँगै विश्वभर संक्रमण दर निरन्तर उकालो लाग्न थाल्यो, तर राष्ट्रव्यापी लकडाउनका कारण नेपाल भने एक किसिमको शून्यतामा रह्यो। शोधकर्ताहरूको एक समूह– कथाकार, पत्रकार र फोटोग्राफरहरूले एउटा सम्पादकीय समूहको गठन गरे र के भइरहेको छ भन्ने बुझ्न लागिपरे। महामारीको अभिलेखीकरण गर्न जरूरी भइसकेको महसूस गरे।
२०७२ सालमा भूकम्प पश्चात, दृश्य कथाकारहरू नेपाल फोटो प्रोजेक्ट (एनपीपी) प्रारम्भ गर्न इन्स्टाग्राममा प्रयोगकर्ता मार्फत (क्राउडसोर्स) फोटोहरू एवं सूचना प्राप्त गर्न जुटेका थिए। फोटो सर्कलद्वारा संचालित यो मञ्च, महामारी लिपिबद्ध गर्न पुनः प्रयोगमा ल्याउनुपर्ने आवश्यकता ठानियो।
त्यसपछि कहिल्यै अनुभव नगरिएको यी समयहरूलाई हामी कसरी सम्झनेछौं भन्नेमा केन्द्रित हुन थाल्यौं।
एनपीपीको सम्पादकीय मण्डलले स्थानीय र जिल्लाका पत्रकारहरूसँग सहकार्य गरी काम गर्ने यो एउटा अवसर हो भन्ने देख्यो। फोटोसर्कलले अनुसन्धान गर्ने लेखकहरूका लागि अनुदान कोष खडा गर्यो र प्रतिस्पर्धात्मक प्रक्रिया मार्फत दश व्यावसायिक र सोखिन कथाकारहरूको छनोट गर्यो।
भारतबाट नेपालीहरू नेपाल फर्कने प्रथम चरण जब शुरू भयो, पदम भट्ट देशान्तरणको समस्या लिपीबद्ध गर्न लागिपरे। कामदारमाथिको ध्यान विस्तारित हुन पुग्यो जब एनपीपीका सहकर्मीहरू दुबई, कुवेत, साउदी अरेबिया र सोभन्दा टाढा रहेका अलपत्र कामदारहरूको सम्पर्कमा पुगे।
प्रारम्भिक रिपोर्टिङताका नै प्रष्ट भइसकेको थियो कि हाम्रो कार्यले जनतालाई सूचित मात्र होइन नीतिनिर्मातासम्म पुग्नुपर्छ। कोभिड–१९ को परीक्षण गर्ने विधिका सम्बन्धमा शुरूका महीनामा गलत बुझाइ देखा परिरहँदा, वीरगञ्जबाट माधुरी महतोले अग्रपङ्ति र परीक्षण केन्द्रहरूबाट सही परीक्षणको आवश्यकता बुझाउन रिपोर्टिङ गरिन्।
सागर क्षेत्री र रबिक उपाध्याय काठमाडौंका युवा ‘इनफ इज इनफ’ भनी आमरण अनशन बस्दा अग्रमोर्चामा थिए। शहरको कोलाहल भन्दा धेरै पर एनपीपीका सहकर्मी कृष्णमाया उपाध्याय, नेपाल फर्की कोभिड–१९ को क्वारेन्टिन बसेर घर पुग्ने क्रममा नेपालीहरूले भोगेको दुर्व्यवहार सम्बन्धमा रिपोर्टिङ गर्दै थिइन्। उता किशोर महर्जनले बाजुरामा तीर्थाटनका लागि हिंडेको समूहसँग जोखिमपूर्ण यात्रा गरे। बाजुरामै बसेर किशोरले सुदूरपश्चिमले महामारीको सामना कसरी गरिरहेको छ भन्ने निरन्तर रिपोर्टिङ गरे।
हामीले नेपालभरबाट रिपोर्टिङ गर्ने क्रममा देखिएको एक परिदृश्य के हो भने महामारीले नेपाली समाजमा पहिलेदेखि नै जरा गाडेका सामाजिक, आर्थिक र सांस्कृतिक विभेदहरूलाई झनै बढाउने रहेछ। नागरिकता नहुँदा सीमान्तकृत समुदायहरूले राहतमा पहुँच नपाउने रहेछन्। लकडाउनहरूमा लैङ्गिक अल्पसंख्यकहरूलाई खाद्यान्नलगायत आधारभूत आवश्यकतामा पहुँच पाउन कसरी तगारो बनेको छ भन्ने नितु घलेको रिपोर्टिङमा पढ्न सक्छौं।
संस्थागत रङ्गभेदलाई सम्बोधन गर्नुपर्ने आवाज विश्वभर गुञ्जायमान हुँदा, नेपालका प्रहरी भने अल्पसंख्यकको नागरिक अधिकारहरू हनन् गरी नै रहे। झापामा पर्वत पोर्तेलले नागरिकको प्रदर्शनको केन्द्रविन्दुबाट नै रिपोर्टिङ गरे, जब एक प्रहरीले गाई काटेको निहुँमा एक मुस्लिम पुरुषलाई पक्राउ ग¥यो र आन्दोलित भीड तितरबितर पार्न बल प्रयोग गर्यो।
यसक्रममा सब्रिना डङ्गोलले एक नर्सको कथा प्रस्तुत गरिन् जो आफ्नो बिरामीको आश मर्न दिन्नन्। राकेशप्रसाद चौधरीको कथाले जलेश्वरका स्थानीय उद्यमीको सराहना गर्दछ, जो चुनौतीहरूका बावजूद खाँचो परेकालाई सेवा र सामान निरन्तर पु¥याइ नै रहेका छन्। सिकुमा राईको शिल्पकारको कथाले हामीलाई लगनशील र हरेश नखान प्रेरित गर्छ।
हुम्लाकी निशा (२३) र दिलकुमारी (२२) । बन्दाबन्दीसँगै रोजगारी खोसिएपछि हाल ललितपुरमा बसिररहेका यी समलिंगीले रोजगारी मात्र गुमाएनन्, डेरा छाड्न समेत दबाब आउन थाल्यो । एक त परिचय खोलिने डर अर्को हातमुख जोर्ने पीडा । योबेला अधिकांश लैगिंक अल्पसंख्यकले यस्तै समस्या भोगिरहेका छन् । तस्वीरः नितु घले
महामारीले सृजना गरेको ‘डिजिटल विभेद’ प्रभाव सबभन्दा बढी बालबालिकाले भोगिरहेका छन्। पर्वत पोर्तेल झापाका विद्यालय यो नयाँ सत्यसँग कसरी साक्षात्कार गरिरहेका छन् भन्ने बुझाउनका लागि लागिपरे।
एनपीपीसँग यतिबेला ७१ हजार संलग्न दर्शक छन्। तस्वीरसँगै रिपोर्ट छन्, सबैभन्दा महत्वपूर्ण कुरा नभनिएका कथा छन्।
झापाको कामातोली बजारमा भीड जम्मा भएको देखेर घर फर्कदै गरेका रफिकुल हक (३८) लाई जिज्ञासा उठ्यो । गोरु काटेको आरोपमा प्रहरीले स्थानीयलाई पक्राउ गर्न खोजेपछि भीड जम्मा भएको रहेछ । केहीबेरपछि नै स्थानीय र प्रहरीबीच झडप भयो । प्रहरीको गोलीले रफिकुल सख्त घाइते भए र भोलिपल्ट उनको निधन भयो । तस्वीरमा शोक मनाउँदै रफिकुलकी आमा ।
तस्वीरः पर्वत पोर्तेल
एउटा कुरा भने पक्का छ, यो महामारीले हाम्रो जनजीवन महामारीपूर्वको अवस्थामा फर्कन नसक्ने गरी परिवर्तन गर्नेछ। त्यसैले पनि महामारीको आज अभिलेख गर्नु जरूरी छ, जुन जारी रहनेछ।
( मल्लिका अर्याल नेपाल फोटो प्रोजेक्टकी सम्पादक हुन्।)
हरेक दिन साँझ दीपा लामा (३२) बसुन्धरादेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल आउँछिन् । उनी सर्जिकल नर्स हुन् । “त्यसो त हरेक दिन हामी नर्सका लागि चुनौतीपूर्ण नै हुन्छ, तर यो महामारी अन्यहीन लडाइँजस्तो भएको छ, बिरामी मात्र होइन, हाम्रैलागि पनि”, दीपा भन्छिन् । तस्वीरः सब्रिना डंगोल
रेखा महतो (४०) महोत्तरीको जलेश्वर सिनेमा हल नजिकै सानो रेष्टुरेण्ट व्यवसाय गर्छिन् । पहिले पहिले मधेशी दलित समुदायकी भन्दैं रेखाले छोएको खान धेरै आनाकानी गर्थे र तर अहिले त्यो अवस्था छैन । “तर, यो महामारीले हामीजस्तो समाजमा दोहोरो मार खेपेकाहरुलाई झनैं गाह्रो पार्नेरहेछ । तर, संकट आउँछ, जान्छ भन्ने सोचेर काम गरिरहेकी छु”, उनी भन्छिन्। तस्वीरः राकेशप्रसाद चौधरी
डिजिटल विभेदः झापास्थित धुलाबारी माविका शिक्षक रमेशकुमार दाहाल (५०) लाई बन्दाबन्दी अघिसम्म भर्चुअल पढाई हुन्छ भन्ने त थाहा थियो तर अभ्यास भने थिएन । जसै बन्दाबन्दी भयो, उनले चुनौती स्वकारेरै पनि यही प्रविधि अपनाउनुपर्यो । तर, डिजिटल प्रविधिको पहुँच ग्रामिण भेगमा हुन नसकेकाले विभेद यहाँ पनि देखिएको उनको गुनासो छ ।
कोभिड—१९ उपचारमा अनिवार्य पीसीआर परीक्षण, चुस्त र प्रभावकारी उपचार पद्धतिको माग गर्दै ललितपुरको कृष्णमन्दिर परिसरमा ‘सत्याग्रह’ बसेका इनफ इज इनफका अभियन्ता । तस्वीरः सागर क्षेत्री
हरेक दिउँसो सुबिमा श्रेष्ठ (४३) ललितपुर, सातदोबाटोस्थित आफ्नो घरको बैठक कक्षमा भारतको शास्त्रीय नृत्य ‘कत्थक’ का लागि तयार हुन्छिन्। तर, पहिले जस्तो उनका सामु शिष्यहरुले सशरीर उपस्थिति जनाउँदैनन्। कोभिड–१९ ले सबै कुरालाई भर्चुअल बनाइदिएको छ । तस्वीरहरु: सब्रिना डंगोल