फुटबल खेलाडी साम्बाको दशैँः घरैमा लिप्दै, पोत्दै र घाँस काट्दै
कोरोनाभाइरस महामारीका कारण खेलकुद शुरु नहुँदा अहिले खेलाडीहरु फुर्सदिला बनेका छन्। राष्ट्रिय फूटबल टीमकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ लामो समयपछि फुर्सदले दशैँ मान्न पाएकाले घर पुगेकी छिन्।
महामारीका कारण फुर्सद भएपछि दशैँ मान्न गाउँ पुगेका कतिपय खेलाडीले सामाजिक संजालमा तस्वीरहरु पोष्ट गरिरहेका छन्। राष्ट्रिय फुटबल खेलाडी साम्बा पनि दशैं मान्न घटस्थापनाअघि नै गाउँ गएकी छिन्। गतवर्ष साग गेमका कारण चार दिन मात्र बिदा पाएकी सावित्रा यो वर्ष फुर्सदमा छिन्।
लमजुङ सिमपानीकी ‘साम्बा’ अहिले गाउँमा परिवारसँग समय बिताइरहेकी छिन्। हिमालखबरसँग उनले भनिन्, “एपीएफमा आवद्घ भएर फुटबल खेल्न थालेदेखि पहिलो पटक लामो समय परिवारसँग समय बिताइरहेकी छु। सुखदुखको गफ गर्ने समय मिलेको छ।”
उनी अहिले घर लिप्ने, रङ्ग रोगन गर्ने, घाँस काट्ने काममा व्यस्त छिन्। उनले यो वर्ष घरमा मात्रै टीका लगाइन्। कोरोनाका कारण यो वर्षको दशैं गाउँमा कुनै रौनक नरहेको उनको भनाइ छ। “सामान्य समयमा स्थानीय क्लबले फुलपातीदेखि भलिबल, फुटबल प्रतियोगिता गर्थे। यसपटक त केही छैन, पूरै सुनसान छ”, उनी भन्छिन्।
गाउँका अधिकांश मानिस गाउँ फर्के पनि कोरोनाका कारण सबै घरैमा सीमित भइरहेको उनी बताउँछिन्। गाउँभन्दा अलि टाढा पिङ लगाए पनि त्यहाँ पनि चहलपहल नभएको उनी बताउँछिन्।
उनले यसअघि गाउँमा यस्तो सुनसान कहिल्यै महशुस गरेकी थिईनन्। केही दिनपछि मात्रै काठमाडौं आउने तयारी गरेकी साम्बाले भनिन्, “अब कति वर्षपछि यसरी परिवारसँग लामो समय बस्न पाइने हो थाह छैन। परिवारसँगको सम्झना संगालेर फर्किने सोंच छ।”