दोस्रो ग्लोबल नेपाली फिल्म, म्युजिक, मिडिया एण्ड सोसल अवार्ड हुने
लभ एण्ड सपोर्ट फाउण्डेसन, अमेरिकाले दोस्रो ग्लोबल नेपाली फिल्म, म्युजिक, मिडिया एण्ड सोसल अवार्ड आयोजना गर्ने भएको छ ।
आउँदो २६ डिसेम्बरमा हुने उक्त अवार्डका लागि आवेदन खुल्ला गरिएको फाउण्डेसनका साँस्कृतिक संयोजक केदार उप्रेतीले भिडियो कन्फरेन्स गरी जानकारी दिएका छन्। फाउण्डेसनले तोकिएका विधामा लाइफटाइम अचिभमेन्ट अवार्ड सहित कुल २७ प्रतिभालाई नगद, ट्रफी र सम्मानपत्रद्धारा सम्मानित गर्ने तयारी गरेको छ।
अमेरिकामा मुख्यालय रहेको उक्त फाउण्डेसनले सन् २०१८ मा अमेरिकाको नर्थ क्यारोलेना राज्यमा पहिलो अवार्ड वितरण कार्यक्रम आयोजना गरेको थियो। त्यसको समापन समारोह भने काठमाडौंमा भएको थियो।
कोभिड–१९ महामारीका कारण यसपटक फाउण्डेसनले संक्षिप्त समारोहका साथ भर्चुअल माध्यमबाट अवार्ड वितरण गर्न लागेको संयोजक उप्रेतीले बताए। अवार्ड वितरणको संक्षिप्त समारोह संयुक्त राज्य अमेरिकाको ओहायो राज्यमा आयोजना हुनेछ।