चीनबाट च्याङ्ग्रा नआउँदा महङ्गो भयो हुम्लीको दशैँ
कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा खसी किन्नु परेको कारण यो वर्ष हुम्लीको दशैँ महँगो भएको हो । हुम्लामा सात गाउँपालिका र ४४ वडा छन्।
विगतमा प्रत्येक वर्षको दशैँमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दशैँ मनाउने गर्थे। तर, च्याङ्ग्रा नआएर खसी किन्दा यो वर्षको दशैँ महँगो बनेको सिमकोट–७ का स्थानीय अमृते विकले बताए।
हुम्लाको हिल्सा, लिमी, चुवाखोला, टाके, नेक्पा लगायतका नाकाबाट चिनियाँ च्याङ्ग्रा आउँदा खसीको मूल्य पनि सस्तो पथ्र्यो। त्यसैले हुम्लीहरुले सस्तो मूल्यमा खसी किनेर बलि दिने गरेका थिए। तर, यस पटक च्याङ्ग्रा नआएपछि मासुका लागि स्थानीय खसीको उत्पादन कम हुँदा महँगो मूल्यमा किनेर बलि दिएको विकले बताए।
चीनबाट आएका च्याङग्राको मूल्य हुम्लामा रु.१५ हजारसम्म पर्ने गथ्र्यो। यसपटक स्थानीय खसी खरिद गर्दा रु.२७ हजारसम्म पर्न गएको हुनाले दशैँ महँगो भएको अर्का स्थानीय कालु बोहराले बताए।
खसी व्यापारी राजेन्द्र बोहराले चीनले सीमा नाका बन्द गरेपछि च्याङ्ग्रा नआउँदा खसीको तौलअनुसार रु.१५ हजार देखि २७ हजारसम्ममा विक्री गरिएको बताए। स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यस पटक अन्य विकल्प नहुँदा मूल्य झनै बढेको उनी बताउँछन्।
व्यापारीहरुले चिनियाँ च्याङ्ग्रा नआउँदा दशैँका लागि भनेर बझाङ, बाजुराबाट समेत खसी ल्याएका थिए। यसअघि दशैँ आउन एक हप्ताअगाडि नै हुम्लामा चिनियाँ च्याङ्ग्रा सदरमुकाम सिमकोटसहित गाउँघरमा भरिभराउ हुन्थे।