कोलकातालाई हराउँदै पञ्जाब आईपीएलको चौँथो स्थानमा
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो भएको खेलमा कोलकाता नाइट राइडर्सलाई हराउँदै किङ्स इलेभन पञ्जाब अंकतालिकाको चौँथो स्थानमा उक्लिएको छ।
हिजोको खेलमा कोलकाताले भने कम्तीमा २४ घन्टा शीर्षस्थानमा पुग्ने मौका मात्र गुमाएन पाचौँ स्थानमा पनि झरेको छ। कोलकाताले दिएको १५० रनको लक्ष्य पञ्जाबले दुई विकेट क्षतिमा १८.५ ओभरमा पूरा गरेको थियो।
पञ्जाबका लागि मन्दीप सिंहले ५६ बलमा ६६ रन बनाए भने धुवाँधार ब्याटिङ गरेका क्रिस गेलले २९ बलमा ५१ रन बनाए। उनले ६ छक्का प्रहार गरेका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा नौ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। उसका लागि ओपनर शुभमान गिलले ५७ र कप्तान इयोन मोर्गानले ४० रन बनाएका थिए। पञ्जाबका मोहम्मद सामीले तीन विकेट लिए।
१२ खेल खेलेका दुवै टीमको समान १२ अंक नै छ। शीर्ष तीन स्थानमा रहेका मुम्बई, दिल्ली र बैङ्लोरको समान १४ अंक छ। तीन वटै टीमले ११ खेल खेलेका छन्।