बेल्जियममा कोरोना संक्रमित चिकित्सकलाई पनि काम जारी राख्न आग्रह
कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएर अस्पताल भर्ना हुनेको संख्या अत्यधिक भएपछि बेल्जियमको लिगे शहरका चिकित्सकलाई आफू संक्रमित भए पनि काम जारी राख्न भनिएको छ।
त्यहाँका लगभग एक चौँथाइ स्वास्थ्यकर्मी कोरोनाभाइस संक्रमित भइसकेका छन्। अहिले त्यहाँका १० अस्पतालले परीक्षण नतिजा पोजिटिभ आएका तर, लक्ष्यण नदेखिएका स्थास्थ्यकर्मीलाई काम जारी राख्न आग्रह गरेका छन्।
बेल्जियम एसोसिएसन अफ मेडिकल स्टाफका प्रमुख डा. फिलिप डेभोसले बताएका छन् कि निश्चित रुपमा यसले बिरामीलाई कोरोना भाइरस सर्ने जोखिम हुन्छ। तर, केही दिनभित्रै अस्पतालको उपचार प्रणाली नै ध्वस्त गर्नबाट बचाउन आफूहरुसँग योबाहेक अरु कुनै उपाय नभएको पनि उनले उल्लेख गरेको बीबीसीले जनाएको छ।
पूर्वी बेल्जियमको उक्त शहरमा प्रत्येक तीन जनाको कोरोना जाँचमा एक जनाको नतिजा पोजिटिभ आउने गरेको छ। अस्पतालहरुले अन्य रोगका बिरामीलाई अन्यत्रै सार्न थालेका छन्। त्यहाँका स्वास्थ्यमन्त्रीले संक्रमणको सुनामी नै आउने चेतावनी दिएपछि अतिआवश्यक बाहेकका शल्यक्रिया गर्नुपर्ने बिरामीलाई भर्ना लिनै छाडिएको छ।