भोलिबाट मौसम उघ्रने सम्भावना
मौसमविद्हरूले भोलिबाट नेपाली आकाश केही दिनका लागि उघ्रन सक्ने बताएका छन् ।
हिजो विहान साढे ७ बजेतिर सुर्खेतको आकाशमा जमेको बादल साँझ काठमाडौंमा पानी पार्न आइपुगेको थियो । सोमबार विहान हुँदा काठमाडौंको आकाश पनि खुल्न थालिसकेको थियो । उता पूर्वी नेपालमा भने आज पनि पानी पर्यो ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान पौने ९ बजे प्रकाशित गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ओखलढुंगा र ताप्लेजुङमा १६ मिलिलिटर, विराटनगरमा १० मिलिलिटर वर्षा भएको थियो ।
सिमरा र काठमाडौं स्थित विभागको स्टेशनमा २ मिलिलिटर वर्षा ‘रेकर्ड’ भएको छ भने पश्चिम नेपाल सुक्खाप्रायः छ । महाशाखाले मंगलबारबाट पूरै नेपालको मौसम सफा हुने जनाएको छ । महाशाखाका मौसमविद् बरुण पौडेल भन्छन्, “पश्चिमी वायुले बादल विस्तारै धकेल्दै लगेको छ, भोलिबाट मौसम सफा हुन्छ ।”
त्यसो त, केही दिनयता परिरहेको हिउँदे वर्षा अन्नपूर्ण हिमालदेखि पूर्वतिरको आधा नेपालमा मात्रै बढी केन्द्रित थियो । धेरैजसो समय सुर्खेत र पोखराको आकाशमा बादल जम्ने र पश्चिमी वायुले त्यसलाई धकेल्दै लगेर काठमाडौं र त्यसदेखि पूर्वतिर पानी पार्ने गरेको मौसमविद् पौडेल बताउँछन् ।
जमीनको सतहदेखि निकै माथि अर्थात उपल्लो वायुमण्डलमा हावा तातेर अन्यत्र प्रवाह हुन थालेपछि हावाको चाप कम हुँदै गयो । यसलाई मौसमविद्हरू ‘न्यूनचापीय प्रणाली’ तयार भएको भन्छन् । त्यस्तो ठाउँमा पश्चिमबाट पानीको बाफ बोकेर आएको चिसो हावा जम्मा हुन पुग्यो र त्यसले बादल जम्न सहयोग ग¥यो ।
प्रि–मनसुनको वर्षा
नेपालको मौसमी प्रवृत्तिलाई नियालेर वैज्ञानिकहरूले चैत, वैशाख र जेठ महीनालाई प्रि–मनसुन अर्थात् बर्खाअघिको समय भन्ने गरेका छन् । यो बेला हावाहुरी, चट्याङ, असिना पानी पर्ने सम्भावना हुन्छ ।
दिन लम्बिंदै र तातो बढ्दै जाँदा आकाशमा दुई तरीकाले बादल जम्न थाल्छ । सूर्यको तापले जमीनमा भएको पानीको मात्रा सुकेर बाफ बन्न थाल्छ । सँगसँगै वायुमण्डलको हावा तातेर सृजना हुने हुरीबतासले एक ठाउँको बादललाई छोटो समयमा टाढासम्म धकेलिदिने गर्छ । त्यस्तै समुद्री सतहबाट आउने हावाले पानीको बाफ बोकेर पनि आइदिन्छ ।
अहिले पनि गुजरात र कराँचीदेखि दक्षिण–पश्चिम अरब सागरबाट पानीको बाफ बोकेको तातो हावा राजस्थान, नयाँदिल्ली हुँदै पश्चिमतिरबाट नेपाली आकाशमा प्रवेश गरिरहेको छ । त्यस्तै कोलकातादेखि दक्षिणतिरको बृहत्–बंगालबाट पनि केहीमात्रामा पानीको बाफसहितको हावा मेची छिचोलेर नेपाली आकाशमा भित्रिइरहेको मौसमविद्हरू बताउँछन् ।
पूर्वबाट आएको हावा केही कमजोर र जमीनको सतहदेखि नजिक अर्थात् वायुमण्डलको तल्लो तहबाट बहेको छ । पश्चिमबाट आएको हावाचाहिँ जमीनको सतहदेखि निकै माथिसम्म पनि फैलिएको छ ।
यसरी आउने हावामा पानीको मात्रा (आर्द्रता) जति बढी भयो, वर्षा हुने सम्भावना पनि त्यति नै ज्यादा हुन्छ । समुद्रबाट आएको पानीको बाफसहितको हावासँग जमीन तातेर उठेको बाफ मिसिँदै गएपछि बादल बन्ने प्रक्रिया शुरु हुन्छ । त्यसो त, समुद्रबाट बाफ नआए पनि हाम्रा खोलानालाको पानी र जमीनबाट उठ्ने बाफ पनि बादल बनेर वर्षा हुन्छ ।
समुद्री बाफ मिसियो भने बादलको आकार ठूलो हुन्छ र त्यसले धेरै पानी पार्छ । गत वर्षदेखि प्रि–मनसुनमा बढी पानी पर्न थाल्नुको कारण यही हो । अझ हाम्रा पहाडी क्षेत्रमा भएका डाँडाकाँडाले बाफलाई आकाशमा धकेल्न मद्दत गर्छन् । त्यसले गर्दा छिटोछिटो बादल बन्न र वर्षा हुन सहयोग पुग्छ ।
पछिल्लो समय हानिकारक ग्यास कार्बन र धुलो आकाशमा थुप्रिने क्रम बढ्दै जाँदा बादलको आकार अझै बढ्न थालेको वैज्ञानिकहरूले बताएका छन् । यस कारण पनि एकै समयमा ठूलो पानी पर्ने गरेको छ ।
तरपनि, मनसुनको समयमा जस्तै पूरै आकाश ढाक्ने विशाल बादल भने अहिले तयार हुँदैन । त्यसले गर्दा प्रि–मनसुनको समयमा सानो क्षेत्रफलमा मात्रै वर्षा हुने गर्छ । कहिलेकाहीँ सडकको आधा पानी पर्ने, आधा सुक्खा हुने वा बारीको एउटा गरामा पानी पर्ने, अर्कामा नपर्ने गरेको हामीले देखेका छौं ।
यस्तो हुनुको कारण पनि प्रि–मनसुनमा सानासाना बादलले पानी पार्ने भएर हो । तर, हावा तातेर यत्रतत्र प्रवाह हुने भएकाले यस्तो बेला हुरीबतास चल्ने गर्छ । त्यसले बादललाई तीव्र गतिमा धकेल्छ ।
आकाशमा अग्ला काला बादल भएको बेला आउने यस्तो हुरीले बादलका थुप्राहरूलाई आपसमा जुधाइदिँदा मेघ गर्जन हुने गर्छ । ढुंगा ठोक्दा आगो बलेजस्तै बादलहरू ठोक्किँदा पनि चट्याङ पर्छ ।
वैज्ञानिकहरूले बादललाई १० वटा प्रकारमा वर्गीकरण गरेका छन् । त्यसमध्ये क्युमुलोनिम्बस र निम्बोसट्रेटस भनिने दुई किसिमका बादलले पानी पार्छन् । क्युमुलोनिम्बर चाहिँ निकै बाक्लो (अग्लो) खालको बादल हो । यस्तो बादलले असिना, पानी, हिमपात र हुरी बतास तथा चट्याङ पार्ने सम्भावना बढी हुन्छ ।
अहिले नै नेपाली आकाशमा त्यस्तो बादलको उपस्थिति कमजोर भएको मौसमविद् पौडेल बताउँछन् । तर, केही दिनमै यस्तो बादल बन्न पनि सक्छ । आकाशमा तीव्र वेगमा चल्ने हावाले टाढाबाट पनि यस्ता बादल हाम्रो आकाशमा ल्याइदिन सक्छ ।
स्थान विशेषमा सृजना हुने मौसमी प्रणाली (लोकल फेनोमेना)ले पनि कतिपय भू–भागमा फाटफुट पानी पार्ने सम्भावना चाहिँ बाँकी नै रहने उनी बताउँछन् ।