घरमै आइसोलेसनमा बस्ने संक्रमितको संख्या एक सातामा ६ हजारले बढ्यो
देशभर पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका एक हजार ७४१ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै १० कात्तिक सोमबार सक्रिय संक्रमितको संख्या ४३ हजार २९३ छ।
यी संक्रमितमध्ये ३२ हजार ६०७ जना घरमै आइसोलेसनमा बसिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।
मन्त्रालयको सोमबारको तथ्यांक अनुसार, घरमै रहेका सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा छन्। वागमती प्रदेशमा १८ हजार १४८ जना र कर्णालीमा ८२२ संक्रमित घरमै आइसोलेसनमा छन्।
होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या प्रदेश–१ मा ५ हजार ९७०, प्रदेश–२ मा १ हजार २४६, गण्डकी प्रदेशमा १ हजार ३२६, लुम्बिनी प्रदेशमा ३ हजार ८४२ र सुदूरपश्चिम प्रदेशमा १ हजार २५३ छ।
मन्त्रालयको ३ कात्तिकको तथ्यांक अनुसार, मुलुकमा कोरोनाका सक्रिय संक्रमित ४० हजार ७७८ थिए। तीमध्ये २६ हजार ९२७ संक्रमित होम आइसोलेसनमा थिए। एक साताको अन्तरमा घरमा आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढेर ३२ हजार ६०७ पुगेको छ। पछिल्लो एक सातामा होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या ५ हजार ६८० ले बढेको देखिन्छ।
मुलुकमा कोरोना संक्रमितहरुको संख्या बढेसँगै अधिकांश अस्पताल भरिएका छन्। अस्पताल भरिएसँगै घरमै आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढ्दै गएको हो।
१० कात्तिकसम्म देशभर कोरोना संक्रमितको संख्या एक लाख ५९ हजार ८३० पुगेको छ। जसमध्ये एक लाख १५ हजार ६७५ जना संक्रमणमुक्त भइसकेका छन् भने ८६२ जनाको मृत्यु भएको छ। सोमबार मात्रै संक्रमणबाट १५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।