गण्डकी प्रदेशमा थपिए २५२ जना कोरोना संक्रमित, चारको मृत्यु
गण्डकी प्रदेशमा सोमबार २५२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै यो प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ७११ पुगेको छ।
संक्रमणबाट गण्डकीमा चार जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ।
निर्देशनालयका अनुसार, कोरोना संक्रमणबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोतीका ७७ वर्षीय पुरुषको सोमबार बिहान साढे २ बजे नवलपरासीको मध्यबिन्दु अस्पताल र नवलपरासीकै गैंडाकोटका ७३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार निधन भएको हो।
यस्तै, कोरोना संक्रमणबाट पोखरा महानगरपालिका–१५ का ७८ वर्षीय महिलाको आइतबार राति ११ बजे चरक मेमोरियल अस्पताल पोखरामा र पोखरा–५ का ५५ वर्षीय पुरुषको आइतबार राति ९:१० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको भएको निर्देशनालयले जनाएको छ।