मिथिलाञ्चलमा आज जतरा पर्व मनाइँदै
बडा दशैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा जतरा (यात्रा) पर्व मनाइँदैछ। धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन मानिन्छ।
मिथिला क्षेत्र शक्ति उपासनाका लागि प्रसिद्ध छ। भगवती दुर्गालाई शक्तिस्वरूपा मानेर परम श्रद्धापूर्वक पूजा गरिने चलन छ। यस अवसरमा गाउँघरमा भगवती दुर्गाको माटोको प्रतिमा बनाएर श्रद्धापूर्वक पूजापाठ गरी मेला लगाइने गरिन्छ।
भगवती दुर्गा नौ दिनसम्म माइती आउने र दशमीका दिन बिदा भई ससुराली (घर) जाने गर्छिन् भन्ने मान्यता मिथिला, बङ्गाल र आसाममा रहेको पाइन्छ। यसकारण माटोको दुर्गाको प्रतिमा बनाई पूजा गरिने स्थानमा दुबो, धान, सुपारी र बेसारले खोइँछ भरेर यात्राका दिन भगवती दुर्गालाई बिदाइ (विसर्जन) गरिने चलन छ।
मिथिला क्षेत्र तन्त्र, मन्त्र, टुनामुना, साधना आदिका लागि पनि विख्यात छ। यस शारदीय नवरात्रको अवधिमा तन्त्र, मन्त्र, टुनामुना र साधनाका क्षेत्रमा उन्मुख हुन चाहने जिज्ञासुका लागि प्रशस्त मानिन्छ। मैथिली भाषामा यस विद्यालाई गुनमन्तर सीखब (मन्त्र सिक्ने) भनिन्छ।
यस्तै अकाल मत्यु भएका तथा मोक्ष प्राप्ति गरिनसकेका आत्माहरू डुलिरहने तथा तिनीहरूले समाजमा दुःख दिन मान्यता रहेअनुसार तिनीहरूको प्रकोपबाट रक्षाका लागि ढोल बजाइने परम्परा पनि छ। यसरी ढोल बजाइनुलाई डगहर देव भनिन्छ। यसबाट दुष्टात्माको प्रकोप समाजमा नपर्ने मान्यता रहेको पाइन्छ।
दशमीका दिन दशओटै द्वार खुल्ला रहने मान्यताअनुसार कुनै पनि शुभ कार्य गर्न प्रशस्त मानिन्छ। यात्राका दिन भगवतीको प्रसादस्वरूप जयन्ती धारण गर्ने तथा पुरोहितले यजमानलाई जयन्ती लगाएर आशीर्वाद प्रदान गर्ने प्रचलन छ।