युरोपमा कोरोनाको दोस्रो लहरः स्पेनमा राष्ट्रिय आपतकाल घोषणा
स्पेन, फ्रान्स, इटाली, बेलायत लगायत युरोपियन देशमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिन थालेको छ। स्पेनले संक्रमण रोक्न राष्ट्रिय आपतकाल घोषणा गरेर रात्रिकालीन निषेधाज्ञा जारी गरेको छ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले राष्ट्रिय आपतकाल घोषणा गरी राति ११ बजेदेखि बिहान ६ बजेसम्मका लागि निशेधाज्ञा जारी गरेका हुन्। उनले नयाँ नियमहरु १५ दिनदेखि ६ महीनासम्म लम्ब्याउन संसदलाई आग्रह गर्ने पनि बताएका छन्।
आपतकाल मापदण्ड अन्तर्गत रहेर स्थानीय अधिकारीहरुले यात्रामा समेत प्रतिबन्ध लगाउन सक्ने सान्चेजले बताएका छन्। त्यस्तै गरी रात्रिकालीन प्रतिबन्धमा पनि स्थानीय सरकारले एक घन्टा लचिलो हुन सक्नेछन्।
यो वर्षको शुरुमै स्पेनमा कोरोना संक्रमणको पहिलो लहर चलेको थियो। त्यति वेला त्यहाँ गरिएको बन्दाबन्दी विश्वकै कडामध्येको एक थियो। यसपटक आपतकाल लागू गरिएपछि एक क्षेत्रबाट अर्को क्षेत्रमा जान प्रतिबन्ध लागेको छ। तर, आवश्यक काम र उपचारका लागि क्षेत्रीय नेतृत्वले प्रतिबन्ध आवातजावत गर्न दिनसक्नेछ।
आपतकाल लागेपछि अब सार्वजनिक ठाउँमा ६ जनाभन्दा बढी भेला हुन पाइनेछैन। निजी ठाउँमा पनि एकाघरका बाहेक ६ जनाभन्दा बढी भेला हुन पाइने छैन। आइतबार टेलिभिजन सम्बोधनमा साञ्चेजले भने, “हामी जुन परिस्थितिबाट गइरहेका छौँ यो अति हो। यो गएको आधा दशककै सबैभन्दा गम्भीर अवस्था हो।”
स्पेनका १७ मध्ये आधाभन्दा बढी प्रान्तले कडा प्रतिबन्धका लागि आग्रह गरेका थिए। अहिलेको प्रतिबन्ध क्यानरी आइल्याण्डबाहेक देशभर लगाइएको छ। गएको अप्रिलमा पहिलो लहर उच्च विन्दुमा चलिरहँदा पनि यस्तै प्रकारको प्रतिबन्ध लगाइएको थियो। स्पेनमा अहिले दैनिक २० हजारभन्दा बढी संक्रमित भेटिन थालेका छन्।
यसअघि फ्रान्सले पनि विभिन्न नौ शहरमा रात्रिकालीन निशेधाज्ञा जारी गर्नुका साथै नयाँ प्रतिबन्धहरु घोषणा गरेको थियो। त्यहाँका राष्ट्रपति इमानुएल माक्रोनले राजधानी पेरिससहित नौ शहरमा प्रतिबन्ध लाग्ने घोषणा गरेका थिए। त्यहाँ पछिल्लो २४ घन्टामा ५२ हजारभन्दा बढी संक्रमित भेटिएका छन्।
उता इटालीले पनि आइतबारदेखि नयाँ प्रतिबन्धहरु घोषणा गरेको छ। स्थिररुपमा संक्रमण बढ्न थालेपछि प्रतिबन्ध लगाउनु परेको सरकारले जनाएको छ।
इटालीले स्विमिङ पुल, सिनेमा घर, थिएटर्स र जिमखाना सोमबारबाट बन्द गर्ने जनाएको छ। त्यस्तै बार, रेस्टुरेन्ट र क्याफेमा साँझ ८ बजेपछि ‘टेबल सर्भिस’ बन्द गरिएको छ।
त्यहाँका प्रधानमन्त्री गिउसेप्पे कोन्टेले गएको मार्च र अप्रिलमा पहिलो लहर चलेको वेला जस्तै आफूले राष्ट्रिय रुपमा बन्दाबन्दी घोषणा गर्न नचाहेको बताएका छन्। अर्थतन्त्र नै धरासायी हुने हुँदा त्यसो नगरिने उनको भनाइ छ।