आईपीएलमा शीर्षस्थानको मुम्बई राजस्थानसँग र बैङ्लोर चेन्नाईसँग पराजित
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो भएका खेलमा राजस्थान रोयल्स र चेन्नाई सुपर किङ्स विजयी हुँदा अंकतालिकाको शीर्ष स्थानमा रहेको मुम्बई र तेस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैङ्लोर पराजित भएका छन्।
हिजो राति सकिएको खेलमा मुम्बईले दिएको १९६ रनको लक्ष्य राजस्थानले १८.२ ओभरमा पूरा गरेको छ। उसका लागि बेन स्टोक्सले ६० बलमा अविजित १०७ रन बनाए। सञ्जु सामसनले पनि ५४ रन बनाए। मुम्बईका लागि ज्याम्स प्याटिन्सनबाहेक अरुले विकेट लिन सकेनन्। प्याटिन्सनले दुई विकेट लिए।
यसअघि मुम्बईले १९५ रनको योगफल बनाउन पाँच विकेट गुमाएको थियो। उसका लागि हार्दिक पान्ड्याले ६० र सूर्यकुमार यादवले ४० रन बनाएका थिए। राजस्थानका लागि जोफ्रा आर्चर र श्रेयस गोपालले समान दुई दुई विकेट लिए।
यसअघि हिजो दिउसोको खेलमा बैङ्लोरलाई चेन्नाईले आठ विकेटले हराएको थियो। अंकतालिकाको अन्तिममा रहेको चेन्नाईविरुद्ध टस जितेर ब्याटिङ गरेको बैङ्लोरले ६ विकेट क्षतिमा १४५ रन बनाएको थियो। उसका लागि विराट कोहोलीले ५० रन बनाएका थिए। चेन्नाईले १८.४ ओभरमा नै लक्ष्य पूरा गरेको थियो।
हारपछि पनि मुम्बई र बैङ्लोर पहिलो तथा तेस्रो स्थानमा कायमै छन्। दोस्रो स्थानमा रहेको दिल्लीसहित तीन वटै टीमको ११ खेलबाट १४ अंक छ। तीन वटै टीम पछिल्लो खेलमा पराजित भएका छन्।