‘लिबियामा कार्यरत सबै नेपाली सैनिक सुरक्षित’
लिबियामा शान्ति स्थापनार्थ कार्यरत आफ्ना २३१ जना जवान सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।
अफ्रिकी राष्ट्र लिबियामा केही दिनदेखि विद्रोही समूह ‘द लिबियन नेशनल आर्मी’ (एलएनए)ले राजधानी त्रिपोली कब्जा गर्ने उद्देश्य सहित आफ्ना गतिविधि बढाएपछि सुरक्षा स्थिति तनावपूर्ण बन्दै गइरहेको छ ।
२२ चैतमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टानियो गुटोरेज तथा विद्रोही नेता खलिफा हफ्तारबीच भएको वार्ताबाट निष्कर्ष ननिस्केपछि एलएनए सैनिक आक्रमणमा उत्रिएको छ ।
विद्रोही समूहले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई ‘नो फ्लाई जोन’ घोषणा गरेको छ । तर, सडकमार्ग भने चालू छ ।
नेपाली सेनाका अनुसार संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा यूनाइटेड नेसन्स् सपाेर्ट मिसन इन लिबिया मिशनका प्रमुख घासन सलामे राजधानी त्रिपोलीमै छन् ।
उक्त मिशनको त्रिपोलीमा रहेको मुख्यालय र त्यहाँ कार्यरत संयुक्त राष्ट्रसंघका कर्मचारीको सुरक्षा नेपाली शान्ति सेनाहरुले गरिरहेका छन् ।