महामारीको दशैं: घटेको बलि, खुम्चिएको रौनक
कोरोना संक्रमण महामारीका कारण स्वास्थ्य सुरक्षा प्राथमिक विषय बनेकाले यस वर्ष बडादशैंका विविध विधि र परम्परा खुम्चिएका छन् भने सर्वसाधारणले पनि रौनक सीमित गरी सावधानी अपनाएर चाड मनाउनुपर्ने परिस्थिति छ।
काठमाडौं दक्षिणकालीकी निशा कार्कीले दक्षिणकाली मन्दिरमा हरेक वर्ष बडादशैंको नवरात्रि अवधिभर दर्शनार्थीले घण्टौं लाइनमा बस्नुपर्ने भीडभाड देख्ने गरेकी थिइन्। तर, यस वर्ष कोरोनाभाइरस संक्रमण महामारीका कारण उनले दक्षिणकालीमा पहिलो पटक सुनसान देखिन्।
दशैंको नौरथा (नवरात्रि) मा काठमाडौं उपत्यकाका शक्तिपीठ र काभ्रेको पलाञ्चोक भगवती मन्दिरसम्म पुग्ने गरेकी ५९ वर्षीया डम्बर कुमारी घिमिरेलाई यो दशैं अनौठो लागिरहेको छ। दशैंका बेला पूजाआजाका लागि हरेक दिन मन्दिर पुग्ने उनी शक्तिपीठहरुमा भीडभाड नगर्नू भन्ने सरकारको आग्रह र कोरोनाको त्रासले घर बाहिर निस्किएकी छैनन्।
नौरथामा विशेष पूजाआजा र भीडभाड हुने शक्तिपीठ तथा मठमन्दिरमा यसपाली सर्वसाधारणको प्रवेश रोक लगाइएको छ। काठमाडौं उपत्यकाका दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, इन्द्रायणी, बज्रयोगिनी, पलाञ्चोक भगवती तथा गोरखा दरबार र नुवाकोट दरबारमा भक्तजनलाई प्रवेश गर्न दिइएन।
स्वास्थ्य मापदण्ड अपनाएर नियमित हुने नित्य पूजा मात्रै गर्न गृह मन्त्रालयले सूचना निकाले अनुसार ती स्थानमा परम्परालाई निरन्तरता दिने गरी नियमित पूजा मात्रै भइरहेको छ।
वसन्तपुरस्थित हनुमानढोका दरबारको दशैंघरमा फूलपाती, अष्टमी र नवमीको तीन दिन दैनिक ५४ राँगा र ५४ बोकाको बलि दिने वर्षौंदेखिको चलन यस पटक तोडिएको छ।
हरेक वर्ष एकदिन नवमीमा मात्र खुला गरिने तलेजु भवानीको मन्दिर पनि यस वर्ष खुलेन। नेपाली सेनाले बडादशैंको सातौं दिन सैनिक मञ्च टुँडिखेलमा विशेष तामझामका साथ आयोजना गर्ने फूलपाती बढाइँ समारोह पनि यस वर्ष सीमित पाहुनाका बीच आधा घण्टामा खुम्च्याइएको थियो।
हनुमानढोकाको दशैंघरमा गोरखा दरबारबाट फूलपाती ल्याउने प्रचलनलाई भने निरन्तरता दिइयो।
केही शक्तिपीठमा बलि भए पनि कतिपय ठाउँमा यो परम्परा यस वर्ष क्रमभंग भएको छ।
वसन्तपुरस्थित हनुमानढोका दरबारको दशैंघरमा फूलपाती, अष्टमी र नवमीको तीन दिन दैनिक ५४ राँगा र ५४ बोकाको बलि दिने वर्षौंदेखिको चलन यस पटक तोडिएको छ। दैनिक गरिने नियमित पूजा र परम्परागत रुपमा हुँदै आएको काम बाहेक अन्य सबै बन्द भएको हनुमानढोका दरबार हेरचाह केन्द्रका प्रमुख सन्दीप खनालले जानकारी दिए।
उनले भने “यहाँ दिने बलि र त्यसको प्रसाद लिन ठूलो भीडभाड हुन्थ्यो, त्यसैले पनि बलि रोकिएको हो।”
यस वर्ष ४० प्रतिशत मात्रै बलि
हनुमानढोका दरबार लगायत विभिन्न शक्तिपीठका लागि बलि दिने पशुपंक्षीको व्यवस्था सरकारले नै गर्ने गरेको छ। मठमन्दिरमा पूजा सामग्री तथा र बलिका लागि दोपाया–चौपायाको व्यवस्थापन गर्ने तालुकदार कार्यालय पेन्सन व्यवस्थापन कार्यालय (पहिलेको कोसीतोषा खाना) हो। यस कार्यालयका अनुसार, यस वर्षको नवरात्रिमा विगत वर्षहरुमा तुलनामा ६० प्रतिशत कम बलि दिइँदैछ।
अर्थ मन्त्रालय अन्तर्गतको यस कार्यालयका प्रमुख मुक्तिनाथ न्यौपानेका अनुसार, गत वर्षभन्दा राँगा र बोकाको ठेक्का नै करीब ६० प्रतिशतले कम गरिएको थियो। “४० प्रतिशत बलि परम्परालाई निरन्तरताका लागि सांकेतिक रुपमा गरिएको हो”, उनले भने।
यसपाली शक्तिपीठमा भीडभाडलाई पूरै निरुत्साहित गरिएको न्यौपानेले बताए। “कतिपय चौबीसै घण्टा आलोपालो गरेर विशेष रुपमा पूजा गरिने मन्दिरहरु पनि छन्, त्यहाँ पनि ८ घण्टा जति थोरै मानिस मात्र बसेर नियमित पूजाआजा मात्रै भएको छ।”
‘रौनक कम गरी सुरक्षित रुपमा मनाऔं’
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले महामारीका कारण यस वर्ष सामान्य अवस्थामा जसरी हर्षोल्लासका साथ मनाउने अवस्था घर र शक्तिपीठहरुमा नभएकाले धार्मिक र सांस्कृतिक रुपमा विधि पुर्याउने गरी मात्र गर्नुपर्ने बताउँछन्।
उनले भने, “समय र परिस्थिति अनुसार शक्तिपीठहरूमा पूजा गरिँदा अपनाइने विधि छोट्याइएको छ। घरघरमा पनि रौनकता कम गरी सुरक्षित रुपले दशैं मनाऔं।”
यसपाली कोरोना महामारीकै कारण राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपतिले सर्वसाधारणलाई टीका नलगाइदिने ती कार्यालयहरुले बताइसकेका छन्।