लगातार किन घट्न थाल्यो कोरोना परीक्षण ?
मुलुकमा पछिल्ला दिनहरुमा कोरोनाभाइरसको परीक्षण दर घट्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ९ कात्तिक आइतबारको तथ्यांक अनुसार, पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको मात्र कोरोना परीक्षण भएको छ। जसबाट २ हजार ८५६ जनामा कोरोना संक्रमण भेटिएको छ।
कोरोना परीक्षणका लागि देशभर ४२ वटा सरकारी र २२ निजी प्रयोगशाला छन्। तर, प्रयोगशालाको क्षमता अनुसार परीक्षण हुनै सकेको छैन।
स्वास्थ्य मन्त्रालयको ५ कात्तिकको तथ्यांक अनुसार, २४ घण्टामा २० हजार ११८ जनाको कोरोना परीक्षण भएको थियो। त्यस्तै, ६ कात्तिकमा १५ हजार २५५ र ७ कात्तिकमा १६ हजार ८६३ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयको तथ्यांक छ। ८ कात्तिकमा त २४ घण्टामा परीक्षण संख्या झन् घटेर १३ हजार ८४६ मा झर्यो। ९ कात्तिकमा यो अझै १२ हजार हाराहारीमा झरेको छ।
मुलुकमा पछिल्ला दिनहरुमा कोरोना परीक्षण दर घटेसँगै नयाँ संक्रमितको संख्या पनि घटेको देखिन्छ। ५ कात्तिकमा ५ हजार ७४३ जनामा कोरोना पोजिटिभ देखिएको थियो भने त्यसपछिका दिनमा क्रमश: ३ हजार ६३७, ४ हजार ४९९ र ८ कात्तिकमा २ हजार २२५ जना संक्रमित भेटिए।
महामारीका बीचमा दशैंको बिदाले कोरोना परीक्षणलाई नै प्रभावित बनाएको छ। विराटनगर महानगरपालिका लगायत कतिपय ठाउँमा दशैं बिदाको अवधिभर स्वाब संकलन नै स्थगन गरिएको छ। तर, यसअघि चाडबाड नहुँदा पनि प्रयोगशालाहरुले पूर्ण क्षमतामा परीक्षण गरेका थिएनन्।
९ कात्तिकसम्ममा मुलुकमा कोरोना संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ। जसमध्ये एक लाख ११ हजार ६७० जना संक्रमणमुक्त भएका छन् भने ८४७ जनाको मृत्यु भइसकेको छ।
अब कोरोनाका सक्रिय संक्रमित ४५ हजार ५७२ जना रहेको मन्त्रालयको तथ्यांक छ।
९ कात्तिकसम्म मुलुकमा १३ लाख ९३ हजार १७३ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।